थामे बाढी : घर, होटल र विद्यालय सहित १४ संरचना बगे
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, नाम्चेको थामे खोलामा आएको बाढीले घर, होटल र विद्यालय बगाएको छ।
जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार थामेको बाढीले सात घर, पाँच होटल, एक विद्यालय र एक क्लिनिकमा पूर्ण रूपमा क्षति पुर्याएको छ। बाढीमा एक जना हराइरहेको खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेले बताए। बाढीले थामेकै सात घर जोखिममा छन्।
शुक्रबार दिउँसो २ बजे थामे खोलामा एकाएक बाढी आएको हो। बाढीले खोला किनारका बस्तीमा क्षति पुगेको डीएसपी घिमिरेले जानकारी दिए।
बाढीले तल्लो तटीय क्षेत्रमा पनि क्षति पुगेको छ। बाढीले कटान गर्दा जोखिममा परेका माप्य दूधकोशी गाउँपालिका-६, बोदेबहर बलेखाका पाँच परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
बाढी दिउँसो आएकाले मानवीय क्षति भएको छैन। हिमताल फुटेर वा हिमपहिरोका कारण बाढी आएको भन्ने यकीन हुन बाँकी नै छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण पनि आएको छैन।
बाढीले क्षति पुगेको क्षेत्रमा इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएका छन्। त्यस्तै, अन्य प्रहरी युनिटबाट पनि प्रहरीको टोली खटाइएको छ।
थामे खोलाको बाढी क्रमशः भोटेकोशी हुँदै दूधकोशीतर्फ झरेको छ। दूधकोशीमा बाढी आउन लागेपछि खोटाङका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, ऐंसेलुखर्क गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।