थामे खोलामा बाढी, दूधकोशी क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, नाम्चेको थामे खोलामा बाढी आएको छ।
शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीले थामेमा बस्तीमा क्षति पुर्याएको छ। क्षतिको विवरण आउन बाँकी छ।
थामेभन्दा माथि थुप्रै ताल छन्। तालहरू फुट्ने खालको नभएको खुम्बु पासाङल्हामु गाउँपालिका-५ का वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले बताए। “थामेमा हिउँ पहिरो गएको अनुमान गरिएको छ,” शेर्पाले भने।
थामे खोलामा आएको बाढी।
थामे खोलाको बाढी दूधकोशीतर्फ आइरहेको छ। दूधकोशी आसपासमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
बाढी आएको क्षेत्रमा सुरक्षाकर्मी पठाइएको छ। दूधकोशी आसपासमा सुरक्षित बस्नका लागि स्थानीयलाई खबर गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका डीएसपी पुरुषोत्तम खड्काले बताए।