आँप फलाउन हालिने पीबीजेड : बोट मार्ने, स्वास्थ्यमा असर पार्ने
उत्पादन बढाउन आँपको जरामा हालिने प्याक्लोब्युट्राजोलले रूख नै सुकाउने गरेको छ। साथै, यसको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पनि असर पार्ने अध्ययनहरूले देखाएका छन्।
सिरहाको धनगढीमाई नगरपालिका-१३, भोर्लेनीका कुलबहादुर पाख्रिन र सुकमाया तामाङ दम्पतीले डेढ बिघामा रहेको आँप बगान २०७२ सालमा व्यापारीलाई ठेक्का दिएका थिए। शुरूमा तीन वर्षका लागि ठेक्का दिएका उनीहरूले त्यसपछि पनि तिनै व्यापारीलाई म्याद थप्दै दिए।
शुरूका केही वर्ष बगान राम्रै अवस्थामा थियो। तर २०७८ सालतिर बोटहरू सुक्न थाले। आम्दानीको मुख्य स्रोत रहेको आँप बगान सखाप हुने देखेपछि उनीहरू आत्तिए। व्यापारीबाट बगैंचा फिर्ता लिए।
बगान ठेक्कामा लिएका व्यापारीले उत्पादन बढाउन आँपमा प्याक्लोब्युट्राजोल (पीबीजेड) नामक विषादी हाल्दा बोटहरू सुकेका रहेछन्। व्यापारीले आफूहरूलाई नसोधी अनेकौं किसिमका विषादी हालेको तामाङ बताउँछिन्। उनका अनुसार सात वटा बोट मरेका थिए।
उनको भनाइमा गाउँमा व्यापारीले आँप बगान लिने होडबाजी नै चल्छ। स्थानीय किसान पनि कहाँ लगेर बेच्ने भन्ने चिन्ता नहुने भएकाले व्यापारीलाई ठेक्का दिन पाउँदा ढुक्क मान्छन्। “तर व्यापारीको भरमा छोड्दा आँप बगान नै बिग्रियो,” उनी भन्छिन्, “बोटहरू सुकेर खंग्रंग थिए। सबै पात झरेको थियो।”
१०० भन्दा बढी घरधुरी रहेको भोर्लेनीका अधिकांश बासिन्दाको आम्दानीको मुख्य बाली आँप नै हो। धेरैले पाख्रिन दम्पतीले जस्तै एकै चोटि तीन/चार वर्षका लागि आँप बगैंचा व्यापारीलाई ठेक्कामा दिने गरेका छन्। अरू किसानको बगानमा पनि पीबीजेड विषादी प्रयोग गरिंदा असर देखिएको तामाङ बताउँछिन्।
आँप बगान फिर्ता लिएर दुई वर्ष स्याहार गरेपछि बल्ल पुरानै स्वरूपमा ल्याउन सकेको उनको भनाइ छ। “बगान हेर्नै नहुने अवस्थामा थियो, एक लाख रुपैयाँ खर्चेर भिटामिन, पिना लगायत पोषण र उपचारपछि फेरि राम्रो बनायौं,” तामाङ भन्छिन्।
भोर्लेनीका रवि तामाङले पनि उत्पादन बढ्छ भनेर यो विषादी प्रयोग गरेका थिए। उनको भनाइमा गाउँलेले यसलाई भिटामिन भनेर प्रयोग गर्दै आएका छन्। “गाउँमा यसको बजार प्रवर्द्धन गर्न आएका विक्रेताले आँपलाई भिटामिन मिल्छ, एकदम राम्रो हो भनेर बेचेका थिए,” उनी भन्छन्।
स्थानीय किसानका अनुसार यो विषादी एग्रोभेटहरूले भारतबाट ल्याउने गरेका छन्। भारतीय उत्पादन भए पनि नेपाली कम्पनी मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपाली उत्पादनका रूपमा बेचेको देखिन्छ।
आँप, लिची उत्पादन हुने तराईका जिल्ला हेर्ने क्षेत्राधिकार रहेको सर्लाहीको नवलपुरस्थित उष्णप्रदेशीय बागवानी केन्द्रका अनुसार पीबीजेडको प्रयोगले सिरहा, सप्तरी लगायत जिल्लामा समस्या निम्त्याएको छ। विषादीका कारण आँप खेती बिग्रियो भन्दै सप्तरीका किसानको टोली गुनासो सुनाउन केन्द्रमा आएपछि बाली संरक्षण अधिकृत एवम् विषादी निरीक्षक सुनीलकुमार चौधरी सहितको टोली बगान निरीक्षण गर्न गएको थियो। त्यस क्रममा आँपका बोट झोक्र्याएको देखिएको चौधरी बताउँछन्।
केन्द्रका प्रमुख राजकुमार यादव भन्छन्, “किसानले विभिन्न विषादीले आँप खेतीमा समस्या ल्याएको बताएका छन्। तर पीबीजेड अरू विषादी जस्तो व्यापक रूपमा बाहिर नआएको र यसले ल्याएको समस्या नयाँ भएकाले यसको रोकथाममा त्यति काम भएको छैन।”
के हो प्याक्लोब्युट्राजोल?
अन्तर्राष्ट्रिय अनुसन्धानमा पीबीजेडलाई बोटबिरुवाको ‘वृद्धि नियामक वा नियन्त्रक’ भनिएको छ। यसले नयाँ पालुवा आउन नियन्त्रण गरी रूखको वृद्धि रोक्छ, र बोटको हर्मोन फूल र फलमा जान्छ। जसले गर्दा फल अत्यधिक फल्छ। सन् १९७० मा बेलायतको कम्पनी इम्पेरियल केमिकल इन्डस्ट्रिजले यसको विकास गरेको थियो। यसका व्यावसायिक नाम बोन्जी, डाउनसाइज, प्याकजोल, फ्लोराजोल र पिक्कोलो छन्।
यो विषादी विशेष गरी फलफूल खेतीमा प्रयोग हुँदै आएको छ। इन्टरन्याशनल जर्नल अफ जियोमेटमा सन् २०१७ मा प्रकाशित एक अध्ययनमा वनस्पतिको वृद्धि नियन्त्रण गर्न र प्रजनन क्षमतालाई उत्तेजित गर्न यसको प्रयोग गरिने उल्लेख छ। आँपको फूल फुलाउन पीबीजेडलाई उष्णकटिबन्धीय क्षेत्रमा व्यापक बिक्रीवितरण गरिएको पनि उक्त अध्ययन लेखमा भनिएको छ।
पीबीजेड झोलका रूपमा रूखको वरिपरि जरामा हालिन्छ। रूखको आकार र फैलावट हेरेर कति मात्रामा प्रयोग गर्ने भनेर निर्धारण गर्नुपर्ने हुन्छ।
नेपालमा आँप खेतीमा उत्पादन बढाउन केही वर्षयता पीबीजेडको प्रयोग हुन थालेको छ। यसको प्रयोगले आँपको फूल वा फल लाग्ने मात्रा बढाउँछ। प्राकृतिक रूपमा वर्ष बिराएर फल्ने आँपको बानी हुन्छ। अर्थात् एक वर्ष बढी फल्छ र अर्को वर्ष कम फल्ने वा फल्दै नफल्ने हुन्छ। यस्तो प्राकृतिक नियम विरुद्ध यो रसायनले हरेक वर्ष आँप प्रशस्त फल्ने बनाउँछ।
पीबीजेडले तत्कालका लागि किसान र व्यापारीलाई फाइदा गरे पनि सही मात्रामा प्रयोग नगरिंदा समस्या निम्त्याएको छ। विषादी निरीक्षक चौधरी यो विषादी एउटा रूखमा १५/१६ एमएल हाल्नुपर्नेमा ठेकेदारले धेरै फलाउने लोभमा धेरै हाल्दा रूख सुक्ने र मर्ने गरेको देखिएको बताउँछन्। “आँपका रूख मर्ने समस्या देख्यौं, तर मानव स्वास्थ्यमा कस्तो असर पारेको छ भनेर अध्ययन हुन बाँकी नै छ,” उनी भन्छन्।
सन् २०१९ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले निकालेको विषादी सूचीमा पीबीजेडलाई मध्यम विषाक्त रसायन (टक्सिसिटी क्लास टु) अन्तर्गत राखेको छ। नेपाल सरकारले भने यसलाई हालसम्म विषादीका रूपमा परिभाषित नै गरेको छैन। नेपालमा एक हजार ८०० भन्दा बढी विषादी दर्ता गरिएका छन्। यसमा पीबीजेड हालसम्म समेटिएको छैन।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रकी बाली संरक्षण अधिकृत स्तुति आचार्य सरकारले पीबीजेडलाई हालसम्म विषादीका रूपमा परिभाषित नै नगरेकाले यसको अवस्था के छ भनेर नहेरिएको बताउँछिन्। “हाम्रो परिभाषामा नपरेको हुनाले यसबारे अध्ययन, अनुगमन वा नियन्त्रण गर्ने भन्ने कुरै आउँदैन,” आचार्य भन्छिन्।
उनका अनुसार डब्लूएचओको विषादी सूची तथा आयातकर्ता र उत्पादनकर्ताले दिएको निवेदन हेरेर विभिन्न प्रक्रिया पूरा गरेर विषादी दर्ता गर्ने केन्द्रको प्रावधान छ। तर पीबीजेड दर्ता गराउन हालसम्म आयातकर्ता र उत्पादनकर्ता केन्द्रमा नआएको उनी बताउँछिन्।
जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा ३ मा विषादी व्यावसायिक रूपमा प्रयोग गर्न वा ओसारपसार, प्याकिङ गर्न पञ्जीकरण वा दर्ता गरेको हुनुपर्ने उल्लेख छ। पञ्जीकरण नगरी विषादी बेचेमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा तीन महीना कैद वा दुवै सजाय हुने व्यवस्था छ।
रूख र माटामा असर
पीबीजेड खास गरी बूढा रूखका लागि बनाइएको हो। त्यस्ता रूखमा यसको प्रयोग गरिंदा केही समयका लागि रूखको वृद्धि नियन्त्रण गरिदिन्छ। तर भर्खरका रूखमा पनि यसको प्रयोग गरिंदा प्रतिकूल असर पारेको देखिन्छ।
यसले बोटबिरुवाको उचाइ तथा आकार नियन्त्रण गर्न र फलफूलका बोटमा फूल फुलाउन र फल लाग्न सघाउँछ। यसको प्रयोगले रूखको प्रजनन क्षमता तीव्र बढाउँछ। जसले गर्दा फूल अत्यधिक फुल्छ र फल मनग्गे दिन्छ। तर यसको प्रयोग गर्दा केही वर्ष प्रशस्त फल लागे पनि तीन/चार वर्षपछि रूख सुक्दै जान्छ।
इन्टरन्याशनल जर्नल अफ जियोमेटमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार, पीबीजेड रूखको जरामा हालेपछि हल्का सिंचाइ गर्नुपर्छ। पानी नहाले बोट सुक्ने जस्ता समस्या छिटै देखिन्छ। नेपालमा किसान र व्यापारीले आँपमा यसको प्रयोग गरेपछि पानी नहाल्ने गरेको पाइएको छ।
अमेरिकाको ओक्लाहोमामा भएको एक अध्ययनले यो विषादी बोट र माटामा एक पल्ट हालेपछि यसको असर तीन वर्ष वा त्यसभन्दा बढी समयसम्म रहने देखाएको छ। यसको प्रयोगपछि बिरुवाको वृद्धि पाँच वर्षसम्म रोकिएको अनुसन्धाताहरूले पत्ता लगाए।
यसले बोटलाई मात्र हैन, फलको आकार र स्वादमा पनि परिवर्तन ल्याएको अध्ययनले देखाएको छ। अध्ययनका अनुसार यसको प्रयोगले माटोमा भएका सूक्ष्म जीवहरू मार्छ र माटोमा यसको असर लामो समयसम्म रहन्छ।
मानव स्वास्थ्यमा प्रभाव
पीबीजेड प्रयोग गरिएका वनस्पतिको फलमा विषादीको अवशेष हुन्छ। यस्तो फल खाएमा मानव स्वास्थ्यमा असर गर्छ।किसानलाई उत्पादन र बालीको गुणस्तर बढाउन सघाउने उत्पादन आपूर्ति गर्ने चेमिनोभा इन्डिया लिमिटेडले सन् २०१७ मा पीबीजेडको सुरक्षा अवस्थाबारेको रिपोर्ट अनुसार यसको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा असर पुर्याउँछ। यसले आँखा चिलाउने, छालामा समस्या निम्त्याउने देखिन्छ। साथै, यो माटामा हालिने भएकाले माटामा भएका साना जीवलाई पनि असर पुर्याउँछ।
केही अध्ययनले पीबीजेडले मानवको प्रजनन स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने औंल्याएका छन्। तर यसबारे पुष्टि गर्न र मानव स्वास्थ्यमा पार्ने अन्य असर पत्ता लाग्ने गरी गहिरो अनुसन्धान हुन सकेको छैन। धेरैजसो अध्ययन जनावरमा गरिएको छ। पशुमा अध्ययन गरिंदा यसले इन्डोक्राइन सिस्टम (ग्रन्थिहरूको प्रणाली) मा बाधा पुर्याउने र प्रजनन प्रक्रियालाई असर गर्न सक्ने देखाएको थियो।