प्राविधिक शिक्षाले पनि टिकाउन सकेन विद्यार्थी
कुनै वेला ‘गरिखाने पढाइ’ का रूपमा चिनिएको प्राविधिक शिक्षामा रोजगारका अवसर घटेपछि विदेशिन सजिलो हुने पढाइतिर लागे विद्यार्थी।
काठमाडौं, दहचोकस्थित मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा शैक्षिक सत्र २०८१/८२ का लागि पीसीएल नर्सिङ कार्यक्रमतर्फ ४८ विद्यार्थी भर्ना भए। तर हेल्थ असिस्टेन्ट र फार्मेसीतर्फ भर्ना हुने क्रमशः १७ र ३१ जना छन्। ल्याब असिस्टेन्ट र रेडियोग्राफीमा भर्ना हुने त झन् ६/६ जना मात्र छन्। जबकि उक्त कलेजमा यी प्रत्येक कार्यक्रममा ४० देखि ४८ वटासम्म सीट छन्।
१७ वर्ष पुरानो कलेजमा चार वर्षयता नर्सिङ बाहेक सबै कार्यक्रममा विद्यार्थी संख्या ओह्रालो लागेको सञ्चालक राधा पौडेल बताउँछिन्। “रेडियोग्राफी र ल्याब त यस वर्षदेखि बन्द हुने स्थिति छ,” उनी भन्छिन्, “नर्सिङमा अलि अलि देखिएको पनि रजिस्टर्ड नर्स भएपछि विदेशमा अवसर पाइने भएर हो।”
केही वर्षअघिसम्म प्राविधिक विषयमा यति आकर्षण थियो कि एसईईपछि ठूलो संख्याका विद्यार्थी यतैतिर मोडिन्थे। प्राविधिक शिक्षा ‘गरिखाने पढाइ’ का रूपमा चिनिन्थ्यो। सरकारी सेवा र निजी दुवैतिर अवसर पाउन सहज थियो। तर अहिले अवसर खुम्चिंदै गएपछि प्राविधिक विषय पढाउने सबैजसो शिक्षालयमा विद्यार्थी निरन्तर घटिरहेछन्। ललितपुर, बागडोलमा २४ वर्षअघि स्थापित एक्मी इन्जिनीयरिङ कलेजमा तीन वर्षअघिसम्म खूबै चाप हुन्थ्यो। एसएलसी नतीजापछि भर्ना हुन आउनेको लाम लाग्थ्यो। अहिले कलेज प्रायः सुनसान रहन्छ। “अहिले अनेक प्रयास गर्दा पनि विद्यार्थी छिटपुट मात्र छन्,” कलेज सञ्चालक महेश मिश्र भन्छन्, “तीन वर्षअघि त सीट भरिएर अन्त पठाउनुपरेको थियो।”
यो कलेजमा सिभिल इन्जिनीयरिङ, कम्प्युटर साइन्स र इलेक्ट्रिकतर्फ प्रत्येकमा ४८ सीट छ। तर यस वर्ष प्रवेश परीक्षामा आवेदन नै जम्मा १२ जनाको पर्यो। भर्ना हुँदा तीन कार्यक्रममा जम्मा तीन/तीन जना भए। मिश्रका अनुसार गत वर्ष पनि विद्यार्थी कम नै थिए। “अब कलेज नै बन्द हुने अवस्थामा पुगेको छ,” उनी भन्छन्।
ललितपुरस्थित एशियन कलेज अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजीमा पनि यस वर्ष नर्सिङमा मात्र विद्यार्थी छन्। ल्याब र रेडियोग्राफीतर्फ एकै जना भर्ना भएनन्। “फार्मेसीतर्फ पनि लाइसेन्स लिने र व्यवसाय गर्ने हिसाबले केही भर्ना भएका छन्,” कलेज सञ्चालक विनोद श्रेष्ठ भन्छन्, “पछिल्ला वर्ष विदेशमा स्कोप नभएका कार्यक्रममा विद्यार्थीको पनि आकर्षण छैन।”
तोकिएका सीट भरिने गरी विद्यार्थी नआएपछि बालाजु स्कूल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीले साउन २२ गते पुनः आवेदन माग्यो। कलेजका अनुसार शैक्षिक सत्र २०८१/८२ का लागि डिप्लोमातर्फ इलेक्ट्रोनिक इन्जिनीयरिङमा नौ, अटोमोबाइलमा २२, मेकानिकलमा २९, बायोमेडिकलमा ३९, मेकाट्रोनिक्समा १९ र अप्थाल्मिक साइन्समा १४ सीट खाली छ। त्यस्तै, प्रिडिप्लोमाका तीन कार्यक्रममा ९७ सीट खाली छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) अन्तर्गत हाल ८७७ कलेज सञ्चालनमा छन्। तिनमा केही आंगिक, केही स्थानीय सरकार र गैरनाफामूलक प्रतिष्ठानले चलाएका तथा केही निजी रूपमा सञ्चालित छन्। यी कलेजले प्रिडिप्लोमा र डिप्लोमा तह पढाउने गरेका छन्। प्रिडिप्लोमातर्फ कम्तीमा ८ कक्षा उत्तीर्णहरूले मात्र भर्ना हुन पाउँछन् जसमा १५ देखि १८ महीनासम्मको कोर्स हुन्छ। डिप्लोमा चाहिं त्यसपछिको तीनवर्षे कोर्स हो। प्राविधिक शिक्षातर्फ मुख्य गरी स्वास्थ्य, इन्जिनीयरिङ, कृषि, पर्यटन र आतिथ्य, फरेस्ट्री, आदि कार्यक्रम छन्।
सीटीईभीटीमा २०७२ सालमा डिप्लोमातर्फको सीट संख्या नौ हजार ६८३ रहेकामा १४ हजार ६१६ जना विद्यार्थी भर्ना गरिएका थिए। त्यस्तै, २०७३ सालमा सीट संख्या ११ हजार ८१८ रहेकोमा १८ हजार २३९ जना विद्यार्थी भए। २०७६ यता भने सीट संख्या बढिरहे पनि विद्यार्थी अनुपात घटेको छ। उक्त वर्ष ३७ हजार ४१ सीट संख्यामा २६ हजार १२४ जना मात्र भर्ना थिए। २०८० मा सीट संख्या ५२ हजार ९८९ पुग्दा विद्यार्थी संख्या २७ हजार ४३३ मात्र थियो।
विद्यार्थी आउन छाडेपछि कतै कतै केही शैक्षिक कार्यक्रमसँगै कलेज नै बन्द हुन थालेका छन्। केहीले गाभिएर धानिने प्रयास गरिरहेछन्। सीटीईभीटीको तथ्यांक अनुसार २०७९ मा एक हजार तीन कलेज रहेकामा २०८० मा आउँदा ६ वटा बन्द भएका थिए। २०८१ मा भने कलेजको संख्या १२० ले घटेर ८७७ वटा सीमित भएको छ।
विदेशिने लहर
कुनै वेला भरिभराउ रहेका प्राविधिक कलेजमा विद्यार्थी किन स्वात्तै घटे त? कलेज सञ्चालकहरूको साझा बुझाइ छ– स्वदेशमा अवसर घट्दै गएर विदेशिने लहर बढेकाले। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेश अध्ययन गर्न भनी अनुमति लिनेको पाँच वर्षयताको संख्याले पनि यसलाई पुष्टि गर्छ। सन् २०२०/२१ मा २८ हजार ८८३ जनाले यस्तो अनुमति लिएकामा सन् २०२३/२४ मा यो संख्या एक लाख १२ हजार ५९३ पुगेको छ।
मनमोहन मेमोरियलकी सञ्चालक पौडेलका अनुसार पछिल्ला वर्ष प्राविधिक शिक्षा पढेकाहरूले रोजगार नपाएको गुनासो गर्न थालेपछि नयाँले यसतर्फ रुचि देखाउन छाडेका छन्। सोही कारण अभिभावक पनि छोराछोरीलाई सकेसम्म साधारण धारतर्फ प्लस टू पढाएर विदेश पठाउन चाहन्छन्। “जागीर छैन भने तीन/चार वर्ष लगाएर यहाँ किन पढ्थे,” उनी भन्छिन्, “प्लस टूमा साइन्स वा मेनेजमेन्ट पढ्दा योभन्दा सस्तो र छोटो हुन्छ। उताबाट विदेश जान पनि चाँडो हुन्छ।”
पौडेलका अनुसार रोजगारीको ठूलो क्षेत्र भनिएको सरकारी सेवामा सीमित दरबन्दी मात्र खुलाइन्छ। निजीमा पनि आम्दानी निकै कम हुन्छ। “निजी-सरकारी हरेक अस्पतालमा ल्याब र रेडियोग्राफीको समूह चाहिन्छ। तर आवेदन नै खुलाउँदैनन्,” उनी भन्छिन्, “अनि विद्यार्थी विदेश नगएर कहाँ जाऊन्?”
शिक्षाविद् केदारभक्त माथेमा पनि प्राविधिक विषयमा विद्यार्थी घट्नुको कारण विदेशिने लहरलाई नै ठान्छन्। “यो अध्ययन गरिनुपर्ने विषय हो,” उनी भन्छन्, “अहिले त पढ्दापढ्दै भिसा लगाउने चलन बस्यो। पढाइ नै बाहिर जाने अवसर हेरेर गर्न थालियो।” पढाइले जीवनयापन गर्ने अवसर दिन नसक्नुलाई खतरा भन्दै माथेमा यसलाई व्यवस्थापन गरिहाल्नुपर्नेमा जोड दिन्छन्। “सरकारले नीति फेरेर हुन्छ वा रोजगारी दिएर हुन्छ, विद्यार्थी टिकाउनुपर्छ,” उनी भन्छन्।
पुल्चोक इन्जिनीयरिङ क्याम्पसका प्राध्यापक प्रमोदबहादुर श्रेष्ठ विद्यार्थी घट्नुमा अध्ययन विनै कलेज खोलिनु अनि गुणस्तरीय पढाइ र जनशक्ति नहुनुलाई पनि कारण मान्छन्। “एकातिर सिकर्मी-डकर्मी पाइँदैन, यता रोजगारी नपाएर हैरानी छ,” उनी भन्छन्, “विद्यार्थीले प्राविधिक विषयमा भविष्य नदेखेरै कलेज सुकेका हुन्।”
राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष चन्द्रमणि पौडेल अहिले नेपालमा पढाइ भइरहेको प्राविधिक शिक्षाले स्वदेश-विदेश कतै पनि काम नपाइने बताउँछन्। उनका अनुसार प्राविधिक शिक्षा भने पनि प्रयोगात्मक सिकाइ छैन। ल्याब पाइँदैन। शिक्षक अभाव छ। “उही आमशिक्षा जस्तै किताब पढ्यो अनि हातमा प्रमाणपत्र लिने काम मात्र भएको छ,” उनी भन्छन्, “प्राविधिक शिक्षाका लागि विश्वविद्यालय छैनन्। अनि शिक्षक कहाँबाट राम्रो होऊन्, पढाइ कसरी गुणस्तरीय होओस्?”
सीटीईभीटीका पूर्व निर्देशक दीपक पौडेल प्राविधिक धारका शिक्षालयमा विद्यार्थी घट्नुमा रोजगारीका क्षेत्र सिर्जना नहुनु र साधारण धारतर्फ ९ देखि १२ कक्षामै केही प्राविधिक विषय पढाइ हुनुलाई कारण मान्छन्। “यसैले विद्यार्थी विदेशिन सजिलो हुने पढाइ खोज्न थाले,” उनी भन्छन्, “कक्षा ११/१२ पढेपछि दुई वर्षमा सजिलै विदेश जान मिल्ने भएकाले विद्यार्थी उतै लागे।”
(सम्पादन : प्रदीप खतिवडा, भाषा : प्रद्युम्न खनाल)
बहसमा विदेशगमन थप सामग्री:
नेपाली नर्सको नियति : बेरोजगारी, श्रम शोषण र विदेशगमन
देशमै केही गर भन्ने योजना खोइ?
चिकित्सकसँगै पलायन हुँदै छ उपचार
विदेशगमनका कारण परिवार नै नरहने जोखिम
शिक्षामै छ समस्या
घरेलु हिंसा छल्न परदेश
समय नचिन्ने शिक्षाले धकेल्दै विदेशतिर
विशेषज्ञलाई पलायन हुन बाध्य पार्दै समकक्षता
किन विदेशिन्छन् विद्यार्थी?
विदेश गइरहेको देश
आखिर मानिस किन विदेश जान्छ?