कर वृद्धिको विरोधमा हेटौंडा बजार बन्द, व्यवसायी धर्नामा
हेटौंडा उपमहानगरपालिकाले कर बढाएपछि हेटौंडाका व्यवसायी बजार बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।
उनीहरू शटर बन्द गरेर शुक्रबार बिहानैदेखि सडकमा उत्रिएका छन्। कर वृद्धिको विरोध गर्दै उपमहानगरको कार्यालय परिसरमा धर्ना दिइरहेका छन्। उनीहरूले उपमहानगर कार्यालय परिसरमै नाराबाजी गरेका छन्।
मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलनमा उत्रिएका व्यवसायीले शटरको साँचो उपमहानगरलाई बुझाउने बताएका छन्। संघका उपाध्यक्ष उज्ज्वल चौलागाईंले शटरको साँचो बुझ्न उपमहानगर नेतृत्वलाई आग्रह गरेको बताए।
आन्दोलनमा जिल्ला सहकारी संघ सहित जिल्लास्थित १६ वटा विषयगत व्यावसायिक संस्थाका व्यवसायी सहभागी छन्।
व्यवसायीको आन्दोलनलाई नगर कार्यपालिकाका सदस्यले पनि समर्थन गरेका छन्। ९४ मध्ये ४८ सदस्यले विशेष नगर सभा बोलाउन माग गरेका छन्। नगर सभाबाट बढाइएको करलाई विशेष नगर सभाबाट मात्रै घटाउन सकिने भएकोले त्रुटि सच्याउन विशेष नगर सभा माग गरिएको हेटौंडा-४ का वडाध्यक्ष नवीन सिग्देलले बताए।
उपमहानगरले १३३ प्रतिशतसम्म कर वृद्धि गरेको छ। गत आर्थिक वर्षमा दुई हजार रुपैयाँ राजस्व तिर्दै आएका बजार क्षेत्रका कपडा सहित सिलाइबुनाइ व्यवसायीले अब तीन हजार रुपैयाँ राजस्व तिर्नुपर्ने भएको छ। गत वर्ष एक हजार तिरेका व्यवसायीले अबदेखि एक हजार ५०० रुपैयाँ तिर्नुपर्ने भएको छ।
बुटिक व्यवसायीलाई यस वर्षदेखि छुट्टै वर्ग बनाएर वार्षिक आठ हजार रुपैयाँ कर तोकिएको छ। गत वर्षसम्म एक हजार ५०० रुपैयाँ कर तिरिरहेका ड्राइक्लिनर्स व्यवसायीले अबदेखि तीन हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ।
सहकारी संस्थाले गत वर्षसम्म वार्षिक दुई हजार ५०० रुपैयाँ कर तिर्नुपर्थ्यो। नयाँ वर्गीकरण अनुसार सहकारीले १२ हजार रुपैयाँसम्म कर तिर्नुपर्नेछ।
त्यस्तै, अस्पताललाई १८ हजार रुपैयाँ कर तोकिएको छ। यसअघि १० हजार रुपैयाँ थियो। विशेषज्ञ क्लिनिकलाई १० हजार रुपैयाँ कर तोकिएको छ। गत वर्षसम्म ६ हजार रुपैयाँ थियो।
हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले राजस्व वृद्धिको विषयलाई गम्भीर रूपमा नलिंदा विवाद भएको बताए। राजस्व वृद्धि गर्ने प्रक्रियामा कमजोरी भएको गौतमको भनाइ छ। कर वृद्धिको निर्णय भएपछि उनी प्रमुख प्रशासकीय अधिकृत बनेका हुन्। वार्ताबाट समस्या समाधान गर्न सकिने उनको भनाइ छ।