पहिरोले भेरी करिडोर र राप्ती लोकमार्ग अवरुद्ध
जाजरकोटको भेरी नगरपालिका-४, बोहरामा पहिरो खसेपछि भेरी करिडोर अवरुद्ध भएको छ।
पहिरोले सडक अवरुद्ध हुँदा सवारीसाधन र यात्रु अलपत्र परेका छन्। पहिरोले पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए।
त्यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-११ र १२ को बीचमा पर्ने पितिबाङ खोलामा गए रातिको वर्षाका कारण बहाव बढ्दा राप्ती लोकमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि दाङ जाने तथा त्यताबाट आउने सवारीसाधन तथा सदरमुकाम मुसिकोट आउने साना-ठूला सवारीसाधन पितिबाङ खोलामा रोकिएका छन्।
बाटामा केही समस्या नभएको र पानीको सतह घट्नेबित्तिकै राजमार्ग सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए।
पहिरोले रुकुम पश्चिम खण्डमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ। चौरजहारी-मुसिकोट खण्ड अन्तर्गत सानीभेरी गाउँपालिकाको चाइनाबगर र गिठागोटमा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।