पूर्वी नेपालमा अत्यधिक वर्षाको सम्भावना
मनसुनी वायुको प्रभावले पूर्वी नेपालका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। यससँगै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
आगामी २४ घण्टामा सबै प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने आकलन छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
ती चारै प्रदेशका विभिन्न क्षेत्रमा सम्भावित बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सचेत गराएको छ। दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।