कक्षा १२ का ‘ननग्रेडेड’ विद्यार्थीलाई पनि एमबीबीएस प्रवेश परीक्षामा सामेल गराउन आदेश
कक्षा १२ को परीक्षामा ‘ननग्रेडेड’ विद्यार्थीलाई समेत एमबीबीएस लगायत स्नातक तहको चिकित्सा शिक्षा पढ्नका लागि लिइने एकीकृत प्रवेश परीक्षामा सामेल गराउन उच्च अदालत, पाटनले अन्तरिम आदेश दिएको छ।
चिकित्सा शिक्षा आयोगले गत जेठ २८ गते स्नातक तहको चिकित्सा शिक्षाका लागि कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले नतीजा नआउँदै सहभागी हुन पाउने गरी प्रवेश परीक्षाको सूचना निकालेको थियो। तर कक्षा १२ को नतीजा आउँदा आयोगले ‘ननग्रेडेड’ हरू प्रवेश परीक्षामा सहभागी हुन नपाउने बताएपछि विद्यार्थीले उच्च अदालतमा रिट दायर गरेका थिए।
उनीहरूले रिटमा अंक पुनर्योगका लागि राष्ट्रिय परीक्षा बोर्डमा आवेदन दिएको र त्यस अगावै आयोगले प्रवेश परीक्षाबाट वञ्चित गर्दा संविधानले सुनिश्चित गरेको शिक्षाको हक हनन भएको जिकिर गरेका थिए।
न्यायाधीश हेमन्त रावलको इजलासले साउन २९ मा आयोगले कक्षा १२ को नतीजा अगाडि नै आवेदन दिन योग्य ठहर्याएर सूचना निकालेको र पुनर्योगका लागि गएका विद्यार्थीको नतीजा सुध्रिएर आएमा त्यस्ता विद्यार्थीलाई तत्कालै क्षति पुग्ने भन्दै उनीहरूलाई परीक्षामा सामेल हुनबाट नरोक्न अन्तरिम आदेश दिएको हो।
आयोगले भदौ १ गते प्रवेश परीक्षा लिने मिति तोकेको थियो। परीक्षा बोर्डले भने सोही दिनसम्म पुनर्योगका लागि आवेदन दिने म्याद तोकेको थियो। स्वीकृति राउत लगायत विद्यार्थीले रिट दायर गरेका थिए। अन्य थप १०० जना विद्यार्थीले समेत दायर गरेको अर्को रिटको पेशी भने साउन ३२ गतेलाई तोकिएको छ।