मुकुल ढकालको स्पष्टीकरण : झूटो आरोप लगाएको छैन, सबै सत्यमा आधारित छन्
नेता र पार्टी विरुद्ध झूटो आरोप लगाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मागेको स्पष्टीकरणमा पूर्व महामन्त्री डा. मुकुल ढकालले सबै सत्यमा आधारित भएको जवाफ दिएका छन्।
डा. ढकालले बिहीबार रास्वपा सभापति लामिछानेलाई सम्बोधन गरेर पठाएको स्पष्टीकरणमा झूटो आरोप नलगाएको जिकिर गरेका छन्। ढकालले भनेका छन्, ‘मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झूटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन्।’
रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाइसकेको छ। पार्टी विरुद्ध षड्यन्त्र गरेको र नेताहरू विरुद्ध झूटो आरोप लगाएको भन्दै रास्वपाले साउन ३० मा स्पष्टीकरण मागेको थियो। साधारण सदस्यबाट पनि किन नहटाउने भन्दै स्पष्टीकरणका लागि २४ घन्टाको समय दिएको थियो।
डा. ढकालले बिहीबार बुझाएको स्पष्टीकरणमा आफ्ना कारणले नभई सभापति लामिछानेका कारणले पार्टीको छवि धूमिल हुँदै गएको जिकिर गरेका छन्। ‘आज पार्टीको छवि मेरा कारणले नभई तपाईंको कारणले धूमिल हुँदै गएको छ। नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो बीउ तपाईंका कारणले नाश हुँदै गइरहेको छ,’ ढकालले भनेका छन्, ‘पार्टी जोगाउन मौका दिनुहोस्। वैकल्पिक राजनीति अघि बढाउन मार्गप्रशस्त गरिदिनुहोस्। पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु।’
डा. मुकुल ढकालको स्पष्टीकरण :