सिन्धुलीमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
गोलबजारबाट सदरमुकाम आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो बिहीबार बिहान कमलामाई नगरपालिका-४, चियाबारीमा दुर्घटना भएको हो।
दुर्घटनामा गोलन्जर गाउँपालिकाका पृथ्वी भुजेल र उदय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले बताए।
एसपी काफ्लेका अनुसार तीव्र गतिका कारण गाडी दुर्घटना भएको हो। दुवै जनाको घटनास्थलमै ज्यान गएको उनले बताए।
दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। तीनै जनालाई काठमाडौं पठाउन लागिएको एसपी काफ्लेले बताए।
बाँकी आठ घाइतेको जिल्ला अस्पताल, सिन्धुलीमै उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।