सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।
प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री शाहले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३६ मत पर्यो। उनको विपक्षमा आठ मत पर्यो भने एक जना सांसद तटस्थ बसे। बैठकमा ४५ सांसद उपस्थित थिए।
मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११ र नागरिक उन्मुक्ति पार्टीका सात सांसदले मत दिए। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदले विपक्षमा मतदान गरे।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री शाहले छिटै आर्थिक ऐन ल्याउने बताए। यसअघिको सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो।