मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउन रास्वपाले माग्यो स्पष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउन स्पष्टीकरण मागेको छ।
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधबार पत्र पठाएर डा. ढकालसँग स्पष्टीकरण मागेका हुन्। पत्रमा उनलाई २४ घन्टाभित्र स्पष्टीकरण दिन भनिएको छ।
डा. ढकाललाई पठाएको स्पष्टीकरण सम्बन्धी पत्रमा भनिएको छ, ‘पार्टी विरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो? आफ्नो आधार प्रमाण तथा भनाइ सहित २४ घन्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सूचित गरिन्छ।’
यसअघि डा. ढकाललाई महामन्त्री, प्रवक्ता एवं केन्द्रीय सदस्यबाट हटाइएको थियो। त्यसमा चित्त नबुझेमा पुनरावेदन गर्ने समय दिइएकामा त्यसो नगरी सञ्चारमाध्यम लगायत विभिन्न माध्यमबाट पार्टी हित विपरीत कार्य गरेको ढकालमाथि आरोप लगाइएको छ।
यससँगै रास्वपा विरुद्ध षड्यन्त्रपूर्ण ढंगले लागेको पनि आरोप लगाइएको छ। रास्वपाले भनेको छ, ‘यसबीचमा पार्टीलाई समाप्त पार्ने षड्यन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरूसँग भेटेको सूचना प्राप्त भएको छ।’