शान्ति प्रक्रियामा नेपालको सफलता संसारका लागि उपयोगी हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नेपालले प्राप्त गरेको सफलता संसारका लागि उपयोगी हुने बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि बोल्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि संक्रमणकालीन न्याय सम्बन्धी कानूनमा सहमति हुनु शान्तिका पक्षधरका लागि खुशीको विषय भएको बताए। सहमतिका साथ कानून पारित हुने चरणमा पुगेकाले त्यसलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
“हाम्रो देशमा द्वन्द्व थियो। हामीले शान्ति प्रक्रिया अगाडि बढायौं। यो प्रक्रिया हाम्रो आफ्नै हिसाबको मौलिक हो। कहिले धिमा गति र कहिले समाधान हुँदै यो प्रक्रिया अगाडि बढेको छ,” प्रधानमन्त्री ओलीले भने, “हामीले दुनियाँका लागि एक नमूनाका रूपमा शान्ति प्रक्रिया अगाडि बढाएका छौं।”
द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलग अलग भएका पक्षलाई उत्थान गर्ने गरी अगाडि बढ्ने उनको भनाइ थियो। “नेपालमा शान्ति प्रक्रियाको अन्तिम किस्ताका रूपमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन सम्बन्धी कानूनलाई लिएका छौं,” उनले भने, “राजनीतिक कार्यदल र संसद्को सम्बन्धित समितिबाट पीडितकेन्द्रित हुने गरी सर्वसम्मत पारित भइसकेको छ। यस अर्थमा म खुशी व्यक्त गर्दछु। यो हाम्रो सफलता दुनियाँका लागि उपयोगी हुन सक्नेछ।”
प्रतिनिधि सभाको बैठकमा संक्रमणकालीन न्यायका विषयमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताले बोलेका छन्।
संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन सम्बन्धी विधेयक प्रतिनिधि सभामा पुगेको छ। यसमाथि बुधबारदेखि नै छलफल शुरू भएको छ।