दुई महीनासम्म आएन बेचन झाका मोबाइलको परीक्षण रिपोर्ट
नक्कली भूटानी शरणार्थी प्रकरणमा पछिल्लो पटक मुद्दा दर्ता गरिएका बेचन झाका दुई वटा मोबाइलको परीक्षण प्रतिवेदन दुई महीनासम्म पनि नआएको खुलेको छ।
जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले झा विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। साउन २९ मा दर्ता गरिएको अभियोगपत्रमा जिल्ला सरकारी वकीलको कार्यालयले झाका दुई वटा मोबाइल र पेनड्राइभको परीक्षण प्रतिवेदन नआएको उल्लेख गरेको छ।
पर्साको वीरगन्ज-७ का ६६ वर्षीय झा पछिल्लो समय काठमाडौंमा बस्दै आएका थिए। नक्कली शरणार्थी प्रकरणमा संलग्न व्यक्ति पक्राउ पर्न थालेपछि उनी फरार थिए।
सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई गत असार १३ गते अपराह्न ३ बजे कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको अभियोगपत्रमा उल्लेख छ। पक्राउ गरेपछि खानतलासी लिंदा सामसङ कम्पनीको खरानी रङको र एप्पल कम्पनीको आकाशे रङको गरी दुई वटा मोबाइल बरामद गरेको थियो। उनीसँगै रहेको रातो रङको डायरी पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यसपछि प्रहरी हिरासतमा रहँदा र सरकारी वकीलसँगको बयानमा पनि झाले आफूलाई केही थाहा नभएको जवाफ दिंदै आएका थिए। नक्कली शरणार्थी प्रकरणबारे आफूलाई जानकारी नभएको उनले बयान दिएका छन्।
उनले आफू कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएको बताएका छन्। उनीबाट बरामद गरिएका दुई वटा मोबाइल र डायरी आफ्नो हुन् भनेका छन्। एक वर्षदेखि मोबाइल चलाइरहेको पनि बताएका छन्। त्यस बाहेक उनले कुनै पनि कुरामा इन्कारी बयान दिंदै आएका छन्। धेरैजसो प्रश्नमा उनले ‘थाहा छैन’ भन्ने जवाफ दिंदै आएका थिए।
प्रमाण र बयानबाट कुनै कुरा नखुलेपछि प्रहरीले उनका दुवै मोबाइल परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंले सामाखुसीस्थित प्रहरीकै विधिविज्ञान प्रयोगशालामा पठाएको मोबाइलको परीक्षण प्रतिवेदन भने दुई महीनासम्म पनि पाएको छैन। झा विरुद्ध प्रमाण जुटाउन महत्त्वपूर्ण हुने आशा गरिएको मोबाइल परीक्षण प्रतिवेदन नआएपछि त्यस विना नै मुद्दा दायर गरिएको छ।
जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा भनिएको छ, ‘प्रतिवादीको साथबाट बरामद भएका दुई थान मोबाइलहरू परीक्षणको लागि डिजिटल फोरेन्सिक ल्याबमा पठाइएकोमा हालसम्म पनि परीक्षण भई प्रतिवेदन समेत प्राप्त हुन नआएको र रामशरण केसीले सनाखत कागज साथ पेश गरेको अडिओ रेकर्ड रहेको पेनड्राइभ समेत परीक्षणका लागि डिजिटल फोरेन्सिक ल्याबमा पठाइएकोमा हालसम्म पनि परीक्षण भई प्रतिवेदन समेत प्राप्त हुन नआएको हुँदा परीक्षण भई आए पश्चात् परीक्षण प्रतिवेदन समेत मिसिल संलग्न राख्नको लागि पठाइने बेहोरा समेत अनुरोध गरिएको छ।’
झा विरुद्ध ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसूर लगाइएको छ। यसअघि झालाई ठेगाना नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन।
यस प्रकरणमा पक्राउ परेका रामशरण केसीले मन्त्रिपरिषद्बाट निर्णय गराउनका लागि झाले पैसा मागेको भन्दै सानु भण्डारीले भनेको बयान दिएका थिए। झा पक्राउ परेपछि पनि केसीले आफूसँग दुई करोडका चेक लिने व्यक्ति यिनै हुन् भनेर कागज गरेका छन्। तर झाले आफूले कसैलाई नचिनेको बयान दिएका छन्।
बेचन झाको बयान :
मेरो शारीरिक अवस्थामा रुघाखोकी, ज्वरो आई टाउको दुखिरहेको छ। साथै आँखामा समस्या भएको छ, पढ्नलेख्न कठिनाइ भएको छ। मानसिक अवस्था ठीक छ। बयान कार्य गर्न सक्छु। कानून व्यवसायी राख्न पाउनेबारे थाहा छ, मैले कानून व्यवसायी राखिसकेको छु।
मलाई प्रहरी हिरासतमा राख्दा आफन्तसँग भेटघाट गर्न पाइरहेको छु। प्रहरी हिरासतमा अन्य कुनै शारीरिक र मानसिक यातना दिइएको छैन।
मिसिल संलग्न मिति २०८१/०३/१४ गतेको दाखिला प्रतिवेदन साथ पेश भएको सामसङ कम्पनीको खरानी रङको मोबाइल, एप्पल कम्पनीको आकाशे रङको मोबाइल, रातो रङको २०२४ लेखिएको डायरीहरू मलाई देखाउँदा देखें र चिनें। उक्त मोबाइल समेत मेरा हुन्। सो मोबाइलहरू मैले आजभन्दा अं. १ वर्षभित्र खरीद गरी चलाएको हुन सक्छ, यकीन मिति थाहा भएन।
मिसिल संलग्न मिति २०८१/०३/२८ गतेको प्रतिवेदन साथ पेश भएको कालो रङको पर्स १, बेचन झा भारत सरकार लेखिएको आधार कार्ड थान १ र बेचन झा आयकर विभाग भारत सरकार लेखिएको कार्ड थान १ समेत मलाई देखाउँदा देखिपाएँ, उक्त पर्स र कार्डहरू मेरा हुन्, हेरी चिनी सनाखत समेत गरिदिएँ।
भूटानी शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन। म कुनै राजनीतिक पार्टीमा आबद्ध व्यक्ति होइन।
टेकनारायण पाण्डेसँग मेरो चिनजान, सम्पर्क समेत केही नभएकाले उनले कहाँ, केकस्तो बयान दिएका हुन्, उनै जानून्, चेकको सम्बन्धमा मलाई केही जानकारी छैन।
अडिओहरूमा भएको संवाद मेरो होइन। भिडिओमा देखिएका व्यक्तिहरू को को हुन्, मलाई थाहा भएन। म मेरो आवाज परीक्षण गर्न मन्जुर छु।
श्यामकृष्ण श्रेष्ठलाई म चिन्दिनँ, उनले के बयान दिएका छन्। मलाई सरोकार छैन। हरिभक्त महर्जनलाई म चिन्दिनँ, मैले उनीबाट कुनै पनि रकम लिएको छैन, उनले कहाँ के बयान दिएका छन, उनै जानून्।