चार प्रदेशमा अत्यधिक वर्षा हुने प्रक्षेपण
मनसुनी वायुको प्रभावले देशका चार प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायु र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षा भइरहेको छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने विभागको अनुमान छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अत्यधिक वर्षा हुने विभागको आकलन छ।
त्यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले आग्रह गरेको छ।
चारै प्रदेशमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ।