यसकारण कम जन्मिरहेका छन् छोरी
२०६८ र २०७८ को बीचमा जन्मिएका बालकको संख्या ५१ लाख छ भने बालिका ४७ लाख मात्र छन्।
राष्ट्रिय जनगणना २०६८ मा एक करोड १० लाख ८४ हजार रहेको बालबालिको संख्या यसपालि घटेर ९८ लाख ६९ हजार पुगेछ। जनसंख्या बढ्नुपर्नेमा उल्टै घटेर १२ लाख १४ हजार कम हुन गएको छ।
यो तथ्यांकभित्र छिरेर हेर्दा उद्घाटित हुने अर्काे तथ्य त झन् डरलाग्दो छ, जहाँ बाबुआमाले छोरीभन्दा छोरा जन्माउन बल गरिरहेको देखिन्छ। यो १० वर्षभित्र जन्मिएका बालकको संख्या ५१ लाख १४ हजार छ भने ४७ लाख ५५ हजार मात्र बालिका जन्मिएका छन्।
पुरुषप्रधान समाजले निर्धारण गर्ने चिन्तनका कारण हाम्रो समाजमा यसअघि पनि छोरीको तुलनामा छोरा जन्माउने प्रवृत्ति संस्कारकै रूपमा विकास नभएको होइन। तर यसपालि देखिएको असमानताको खाडल निकै फराकिलो छ। जस्तै– १० वर्षअघि छोरा र छोरीको यस्तो फरक जम्मा एक लाख ६७ हजारको देखिन्थ्यो। २०५८ सालको जनगणनामा त यो फरक झन् एक लाख ६५ हजारको थियो।
अहिले १०० जना छोरी जन्मिँदा ११२ जना छोरा जन्मिरहेका छन्।
शिक्षा, इन्टरनेट र विश्वका कुनाकाप्चामा पहुँच भएको र झन् बढी जान्नेबुझ्ने भनिएको अहिलेको पुस्ता झन् किन छोरीप्रति अनुदार देखिन्छ?
व्यक्ति, परिवार र समाजले लिएको यत्रो ठूलो निर्णयको समाजशास्त्रीय अध्ययन त भएको छैन, तर केही अध्येता यस्तो अभ्यास हाम्रा निम्ति संकटका रूपमा निम्तिन सक्ने आशंका गर्छन्।
हामी छलफल गरौं– आखिर बच्चा किन कम जन्मिरहेका छन्?
गरीबी र अभाव
केहीले गरीबी र अभावका कारण बच्चाको पालनपोषण गर्न सास्ती भोग्नुपर्ने हुनाले कम बच्चा जन्मिरहेको विश्लेषण गरेको देखिन्छ। हुन पनि पहिला सुनिने गरेको ‘एक छोरा एक छोरी’ को नारा अहिले ‘एउटा भए ठिक्क’ मा सीमित हुन पुगेको छ।
विदेश उड्ने संस्कृति
रोजगार र अध्ययनका लागि विश्वका गाउँशहर पुगेका ४० लाख भन्दा बढी मान्छेको उर्वर समय श्रममै बितिरहेकाले तिनको बिहेबारी ढिलो भइरहेको छ। बिहे भए पनि दम्पतीको मिलाप लामो समयमा हुने गरेको छ।
गर्भपतन
नेपालमा भ्रूण परीक्षण कानूनले रोकेको छ। तर लुकीछिपी यस्ता काम भइरहेका समाचार आइरहेका हुन्छन्। सीमाक्षेत्रमा भने भारतमा गई छोरी भए गर्भपतन गराउने काम भइरहेको हुन सक्ने त्रिभुवन विश्वविद्यालयको जनसंख्या विभागका प्राध्यापक योगेन्द्र गुरुङको अनुमान छ। उनको आशंकाको पछाडि कारण पनि देखिन्छ।
तथ्यांकले नेपालभरिमा धनुषामा सबैभन्दा बढी छोरा जन्मिरहेको देखाउँछ। यस जिल्लामा १०० छोरी जन्मिँदा १३३ जना छोरा जन्मिरहेको देखिन्छ। जबकि राष्ट्रिय औसतमा हेर्दा यो निकै फराकिलो अंक हो। धनुषापछि सप्तरी, सिरहा, कैलाली, कञ्चनपुर र डोटीमा लैंगिक अनुपात उच्च देखिन्छ।
छोरीको बिहेवारी गर्दा दाइजोमा मोटो रकम खर्च हुने हुनाले दाइजो प्रथा जीवित समाजमा छोरी जन्मिनुलाई रुचिकर मानिंदैन। त्यसैले भ्रूण पहिचान गराएर गर्भपतन गराइन्छ।
यो प्रवृत्ति बढ्दै गए के होला?
केटाहरूले बिहे गर्न केटी नपाउने हुन्छ। यस्तो असन्तुलनले समाजमा यौन सम्बन्धी विचलन ल्याउँछ र महिलामाथि हुने हिंसालाई झन् प्रवर्द्धन गर्छ। त्यसैले यस्तो विपत्तिको आगमन अगावै हामीले केही सतर्कता अपनाउनुपर्ने हुन्छ।