कहाँ छ नेपाली किशोर साहित्य?
नेपाली किशोरकिशोरीलाई साहित्य मार्फत सम्बोधन हुन सकेको छैन।
किशोरावस्था आफैंमा एक संवेदनशील समय हो। भोलिको जीवन कस्तो बन्ने भन्ने आधार यो समय धेरैका लागि कठिन हुन्छ। आफू अरू जस्तो भइन्न कि अथवा समाजमा सर्वस्वीकृत कसरी हुने भन्ने प्रश्न सबै किशोरकिशोरीको मनमा हुन्छ।
न बालक झैं अबोध न त वयस्क झैं परिपक्व यो उमेरका पाठक लक्षित परिस्थितिलाई साहित्यमा उतार्नु कठिन काम हो। त्यसैले बाल साहित्य जति आएको छ, किशोरकिशोरीका लागि त्यति लेखिएको छैन।
१३-१८ वर्ष उमेर समूहका किशोरकिशोरीका लागि लेखिने साहित्य किशोर साहित्य हो। कक्षा ७-८ देखि १२ पाससम्मका छात्रछात्रा यसका लक्षित पाठक हुन्।
अमेरिकी मनोविद् इरिक इरिकसनका अनुसार किशोरावस्था एक संक्रमणकालीन अवस्था हो, जहाँ शारीरिक परिवर्तन, बौद्धिक विकास र सामाजिक अपेक्षा मिलाएर लैजानुपर्ने हुन्छ, बाल्यकाललाई समेटेर भविष्यबारे सोच्नुपर्छ।
इरिकसनले भने झैं किशोरावस्था साँच्चै जटिल समय हो। किशोर साहित्यको शुरूआत अठारौं शताब्दीबाट भएको मानिन्छ। जेन आयरको समयदेखि १९६० को दशकमा लेखिएको हार्पर लीको टु किल अ मोकिङबर्डसम्मका कथाहरूलाई यसका उदाहरण मान्न सकिन्छ।
वर्तमान विश्व साहित्यमा किशोर साहित्यको अवस्था खराब छैन। २०२२ र २०२३ को बूकर प्राइजका लागि सूचीकृत क्रमशः जापानी मियाको कावाकामीको हेभेन र ब्रिटिश–इन्डियन चेतना मारूको वेस्टर्न लेन किशोरकिशोरीका उपन्यास हुन्। यी दुवै किशोर साहित्य भए पनि यिनका पाठक किशोरकिशोरी मात्र रहेनन्।
अंग्रेजी साहित्यमा किशोर साहित्यलाई ‘कमिङ अफ एज लिट्रेचर’ भनेर पढ्ने/पढाउने, छलफल गर्ने परम्परा छ। हाम्रोमा भने कि बाल साहित्य कि त वयस्कको साहित्य भनिन्छ, किशोर साहित्यलाई स्थान दिएको पाइँदैन।
गत वर्ष नेपाली किशोर साहित्य अध्ययन मेरा लागि एक अनौठो अनुभव बन्न पुग्यो। नेपाली साहित्यमा किशोरी पहिचान निर्माणको क्रमलाई कसरी चित्रित गरिएको छ भन्ने मेरो अनुसन्धानको विषय थियो।
अनुसन्धानका क्रममा मूलधारको समाजभन्दा पर आफ्नै जातीय पहिचान बोकेर बसेका किशोरीलाई किशोर साहित्यमा खोजेर पनि पाउन गाह्रो भयो। लिम्बू किशोरीहरूको किशोरावस्थाको यात्रालाई साहित्यमा अवलोकन गर्न लेखक काजीमान कन्दङवाबाट एकै चोटि श्रद्धा घलेको वेवार्ड डटर उपन्यासमा आइपुग्नुपर्यो।
विक्रमको १९५० देखि ९० सम्मको दशकका किशोरीलाई एउटै फ्रेममा राखेर अनुसन्धान गर्नुपर्दा नेपालीमा किशोर साहित्य ज्यादै कम लेखिएको निश्चित भयो। त्यसमा पनि आदिवासी जनजाति किशोरकिशोरीको साहित्य अझ थोरै रहेछ।
केही हुँदै नभएको भने अवश्य होइन। तीर्थ गुरुङको पाठशालालाई यसको गतिलो उदाहरणका रूपमा लिन सकिन्छ। उनको कामको समीक्षा/समालोचना भने हुन सकेको छैन।
किशोरकिशोरीमा गुम्सिएर रहेका असंख्य कथालाई नेपाली साहित्यले अझै समेट्न सकेको छैन। पाठशालामा डब्बु मार्फत तीर्थ गुरुङले जे बोले, त्यो आवश्यक थियो। र अझ धेरै बोल्न आवश्यक छ। किशोर संवादको शैलीमा उनले जे लेखे, त्यो प्रशंसनीय छ।
त्यसैगरी, दुर्गा कार्कीको कुमारी प्रश्नहरूले एउटा खाडल पुरेको छ। यो पुस्तकले विशेषतः किशोरीहरूको शारीरिक वृद्धि र त्योसँगै आउने भावनात्मक परिवर्तनबारे मजाले बोलेको छ। भाषामा भने गुरुङको काम कार्कीको भन्दा अब्बल छ। तर यी दुवैको मिहिनेतलाई नेपाली किशोर साहित्यको मानकका रूपमा लिनुपर्छ।
बुद्धिसागरको कर्णाली ब्लूज र फिरफिरेलाई समालोचक/समीक्षकले किशोर साहित्य भनेको पाइँदैन, तर यी दुवै उपन्यास हुन्– किशोर साहित्य। वसन्त होस् वा पवन, ८० दशकका नेपाली किशोर हुन् उनीहरू। उनीहरूबाट तत्कालीन समाजको किशोर मनोविज्ञान प्रकट हुन्छ।
अंग्रेजीमा लेखिएकाले नेपाली पाठकमाझ त्यति नपुगेको श्रद्धा घलेको वेवार्ड डटरलाई नेपाली किशोर साहित्यको अर्को मानक मान्नुपर्छ।
मध्यमवर्गीय लिम्बू परिवारबाट काठमाडौंको उच्चवर्गीय खस आर्य बहुल विद्यालय आएकी घलेकी प्रमुख पात्र सुम्निमाका लागि जात, लिंग सबै कुरा सामाजिक अन्तर्घुलनमा बाधक बन्न पुग्छन्।
अबको छलफल
हाम्रो पाठ्यपुस्तकमा किशोर साहित्य भेटिंदैन। कक्षा ११ र १२ को वोस्कर वाइल्ड र इइ कमिलङ भेटिए पनि नेपाली किशोरकिशोरीले आफैंलाई भेट्ने खाले पाठ्यसामग्रीको अभाव छ।
मेरो अनुभवमा किशोरकिशोरीमा पठन संस्कृतिको प्रभाव खासै छैन। कक्षा १२ का मेरै विद्यार्थीलाई मन पर्ने लेखकबारे सोध्दा या लेख्न लगाउँदा अधिकांशले पाठ्यपुस्तकका बाहेक अरू लेखकलाई नपढेको बताउँछन्।
यसले के पनि जनाउँछ भने, हामीले अहिलेसम्म किशोरकिशोरीलाई पढ्न मन पर्ने किसिमका पुस्तक लेख्नै सकेका छैनौं। वा उनीहरूलाई प्रतिनिधित्व गर्ने पठन सामग्री नै छैन हामीसँग।
सिनेमा र गीतसंगीत पनि साहित्यकै विधाहरू हुन्। हाम्रा सिनेमामा पनि किशोरकिशोरीको उपस्थिति झिनो छ। यसले समग्रमा हाम्रो किशोर साहित्यलाई कमजोर देखाउँछ।
उमेरका हिसाबले कठिन मानिने किशोरावस्थालाई हाम्रो साहित्यले जसरी सम्बोधन गर्नुपर्थ्यो, त्यो गर्न सकेको छैन। हामीकहाँ विश्व साहित्यमा जस्तो किशोर साहित्यलाई छुट्टै विधा मानेर अध्ययन-समीक्षा हुन सकेको छैन।
हामी हाम्रा नानीहरू पढ्दैनन्, भाषामा पकड भएन भनेर गुनासो त गरिरहेका छौं, तर उनीहरूका लागि के लेख्यौं भन्नेमा ध्यान दिइरहेका छैनौं। अब यसमा छलफल थाल्ने कि?