सानफ्रान्सिस्कोमा ‘कोशीको पानी’
अमेरिका टूरमा रहेको लोकरक ब्यान्ड नेपथ्यले यात्राको दोस्रो कन्सर्ट सानफ्रान्सिस्कोमा गरेको छ।
सानफ्रान्सिस्कोको वारफिल्ड हलका दुवै तलामा खचाखच दर्शकमाझ ब्यान्डले प्रस्तुति दिएको हो। यसअघि नेपथ्यले यही हलमा आठ वर्षअघि कन्सर्ट गरेको थियो।
कन्सर्ट शुरू हुनुभन्दा केही समयअघि नेपथ्य ब्यान्डले आफ्नो फेसबूक पेजमा लेखेको थियो, ‘कार्लोस सान्ताना, डेभिड बोई, बब डिलन र युटु जस्ता संगीतमा विश्वकै महान् नामहरूले कुनै समय आफूलाई उभ्याइसकेको यो मञ्चमा आज फेरि हामी प्रस्तुत हुँदै छौं। यो हाम्रो अहोभाग्य हो।’
ब्यान्डका प्रमुख गायक अमृत गुरुङले ‘कोशीको पानी यो जिन्दगानी’ बाट कार्यक्रमको दैलो उघारेका थिए। पहिलो प्रस्तुतिदेखि नै जोशिएर नाचेका दर्शक अन्तिमसम्मै गायकसँग सुर मिलाउँदै झुमिरहेका देखिन्थे।
हलका साउन्ड इन्जिनीयर फ्रिवे मिग्लियोर आफूले नबुझ्ने भाषा भए पनि असाध्यै रमाइरहेका दर्शक हेरेर ब्यान्डको लोकप्रियता अनुमान गर्न सकिने बताउँदै थिए। उनले भने, “मिक्सर चलाउँदै गर्दा म पनि नेपथ्यको संगीतमा झुमिरहेको थिएँ।”
कार्यक्रममा ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’ हुँदै ‘मै नाचें छमछमी’, ‘रेशम’, ‘तालको पानी’ गाएर अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो। नयाँ-पुराना गरेर १७ वटा गीत प्रस्तुत गरिएका थिए।
अमृतले विश्वकै अग्ला सांगीतिक हस्तीहरू उभिएको मञ्चमा दोस्रो पटक भव्य र सभ्य दर्शकका सामु पाइला राख्न पाउँदा अनुगृहीत महसूस गरेको बताए।
दर्शकदीर्घामा रहेका रोशनप्रताप राणाले विदेशी भूमिमा प्रस्तुति, प्रविधि र व्यवस्थापनको हिसाबले निकै व्यवस्थित नेपाली कार्यक्रम हेर्न पाएको र यसले मन रमाएको भन्दै खुशी साटे। “उमेरको हिसाबले तीन पुस्ता सँगै भेला भएर रमाएको देख्दा अद्भुत आनन्द आयो,” उनले भने।
आयोजक बिन्दास इभेन्टका सुदीप थापाले नेपथ्यको कन्सर्ट झन्डै २० वर्षअघि आफू विद्यार्थी छँदा भक्तपुर दरबार स्क्वायरमा हेर्ने मौका पाएको सम्झँदै भने, “अहिले त्यसै ब्यान्डलाई निम्त्याएर यो भेगमै आजसम्मको सबैभन्दा ठूलो नेपाली कार्यक्रम प्रस्तुत गर्ने आयोजक टोलीमा सम्मिलित हुन पाउँदा गौरव लागेको छ।”
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र कीबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
अमेरिकामा नेपथ्यको तेस्रो कन्सर्ट १७ अगस्टमा ओहायो राज्यको राजधानी कोलम्बसमा हुनेछ। त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’ मा ब्यान्डले प्रस्तुति दिनेछ।
त्यसपछि क्रमशः डालास, न्यूयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा कन्सर्ट हुनेछ।