सत्य निरूपण विधेयक प्रतिवेदन प्रतिनिधि सभामा पेश हुँदै
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक सम्बन्धी प्रतिवेदन मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा पेश हुने भएको छ।
कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले मंगलबार १ बजे बस्ने बैठकमा प्रतिवेदन पेश गर्ने कार्यसूची छ। समितिले साउन २४ गते यो ऐन संशोधन सम्बन्धी विधेयकको मस्यौदा सर्वसम्मतिले पारित गरेको थियो।
२०७९ फागुन २५ गते प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक फागुन २६ गते सांसदहरूलाई वितरण गरिएको थियो। विधेयकलाई २०८० वैशाख १५ गते दफावार छलफलका लागि कानून, न्याय तथा मानव अधिकार समितिमा पठाइएको थियो।
विधेयकका कतिपय विषयमा सहमति जुट्न नसकेपछि गत असार १३ गते नेपाली कांग्रेस नेता रमेश लेखक, नेकपा (एमाले) नेता महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन भएको थियो। कार्यदलले साउन १७ गते विवादित विषयमा सहमति जुटायाे। त्यसको एक हप्तापछि समितिबाट पारित भएको प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश हुन लागेको हो।