विदेश पलायन भइरहेको युवाशक्तिलाई रोकेर राष्ट्र निर्माणमा लगाउनुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले विदेश पलायन भइरहेको युवाशक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा लगाउनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसंघको संयुक्त आयोजनामा सोमबार आयोजित ‘नेपाल युवा सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको सम्भावना पहिचान गरी त्यसको समुचित प्रयोग गर्नुपर्ने बताए।
“दिनानुदिन विदेश पलायन भइरहेको युवाशक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको छ,” राष्ट्रपति पौडेलले भने, “हामीसँग भएका प्राकृतिक सम्भावनालाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौंतारिनुपर्ने छैन।”
उनले सूचना प्रविधिको विकास तथा बदलिंदो सामाजिक परिवेश अनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीति आवश्यक रहेको बताए। राज्यको सर्वांगीण विकासमा युवालाई विशेष योगदान दिने उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको उनको भनाइ थियो।
“राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकूद तथा मनोरञ्जन लगायत क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरूरी छ,” राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नवीनतम विकासको सन्दर्भमा युवा सम्बद्ध समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक रहेको बताए।
“यी चुनौतीलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानव अधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्यमान्यता, विश्वशान्ति, सहअस्तित्वको भावना जगेर्ना, वातावरणीय सम्पदाको संरक्षण र संवर्द्धन तथा विभिन्न जातजाति, भाषा, धर्म, संस्कृतिबीच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य, रोजगारी लगायत आवश्यकताको परिपूर्ति समानता एवं समतामूलक वितरणको सिद्धान्तका आधारमा गर्न आवश्यक छ,” उनले भने।
त्यस्तै, युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले आजको विश्व परिवेशमा सूचना प्रविधिको विकास र दिगो विकासको अवधारणालाई युवासँग जोडेर अगाडि बढाउन सक्नुपर्ने बताए। “आजको विश्व परिवेशमा डिजिटल पूर्वाधारसँगै हाम्रो समाज र दैनिक जीवन द्रुतगतिमा परिवर्तन भइरहेको छ। दिगो विकासका लक्ष्य प्राप्तिका लागि भएका प्रयासमा डिजिटल रूपान्तरणको महत्त्वलाई स्विकार्दै प्राविधिक जनशक्ति निर्माण र जलवायु परिवर्तनको अवस्था समेतलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेछ,” उनले भने।
नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्दीले विश्वभरका युवालाई जोड्ने उद्देश्यले आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ का लागि यस सम्मेलनमा उठान हुने विषय र जारी हुने घोषणापत्र महत्त्वपूर्ण रहेको बताइन्। जलवायु परिवर्तनका मुद्दा र दिगो विकासका लागि युवाले अग्रपंक्तिमा रहेर वकालत गर्नुपर्नेमा उनले जोड दिइन्।