सुदूरपश्चिमका मुख्यमन्त्रीले साउन ३० मा विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० मा विश्वासको मत लिन लागेका छन्।
मुख्यमन्त्री शाहले विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका छन्। साउन ३० मा बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक तयारी गरिने प्रदेश सचिवालयले जनाएको छ।
नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनी संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। यस उपधारा अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। अहिले प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात सांसद छन्।
त्यस्तै, विपक्षमा रहेका नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एकीकृत समाजवादी)का पाँच र राप्रपाका एक सांसद छन्।