फेवा जोगाउन ड्रोनबाट छरियो उत्तिस
नासिंदै तथा पुरिंदै गएको फेवा ताललाई जोगाउन फेवा जलाधार क्षेत्रको रातापहिरो क्षेत्रमा ड्रोनबाट उत्तिसको बीउ छरिएको छ।
मानवीय अतिक्रमण र प्रदूषणको चपेटमा परेको फेवा ताल बर्सेनि खुम्चिंदै छ। पछिल्लो समय फेवा पनि जलवायु संकटको चपेटामा परिरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न अध्ययनले नै फेवा तालको आयु घट्दै गएको औंल्याएका छन्।
यी सँगसँगै फेवालाई अर्को समस्या थपिएको छ, जलाधार क्षेत्रबाट। मुहानबाट बर्सेनि बगेर आउने ढुंगा, माटो र बालुवाले फेवा तालको क्षेत्र र आयु घटाउँदै लगेका छन्।
यसैलाई ध्यानमा राखेर सरकारले २०७८ सालमा फेवा जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको थियो। तैपनि जलाधार क्षेत्रमा गइरहने बाढीपहिरोका कारण फेवामा असर पर्ने गरेको छ।
अस्तित्व संकटमा परेको फेवालाई जोगाउन पहिरो गएको क्षेत्रमा छिटो बिरुवा हुर्काउन प्रविधिको सहयोग लिन थालिएको छ। यस पटक फेवाको जलाधार क्षेत्रमा ड्रोनबाट उत्तिसको बीउ छरिएको छ। “पहिरो गएको ठाउँमा मान्छे पुगेर बिरुवा रोप्न सकिंदैन, त्यसैले ड्रोनबाट बीउ छरेका छौं,” वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्ले भन्छन्।
रातापहिरोसँग जोडिएको फेवा जलाधार
कास्कीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने जंगलमा वर्षौंदेखि पटक पटक पहिरो गएको छ। पहिलेको सानो पहिरो बर्सेनि बढ्दै अहिले १० हेक्टर क्षेत्रमा फैलिएको छ। पहिरोले पूरै जंगल क्षेत्र रातै भएको छ। धेरै पहिरो गएकाले स्थानीय पनि त्यस क्षेत्रलाई ‘रातापहिरो’ भन्छन्।
वर्षा यामको पानीले रातापहिरोका ढुंगा, माटो र ग्रेगानलाई तल बगिरहेको अँधेरी खोलामा मिसाउँछ। अँधेरी खोला बग्दै हर्पन खोलामा पुग्छ। हर्पन त्यही खोला हो, जहाँ फेवाको मुहान छ।
यसरी रातापहिरो क्षेत्रका ढुंगा, माटो र गेग्रान अँधेरी र हर्पन खोला हुँदै फेवा तालमा पुग्छन्। फेवा ताल जलाधार संरक्षण क्षेत्रमा नजिकको सबैभन्दा ठूलो पहिरो नै रातापहिरो हो।
रातापहिरोको पहिरो रोक्ने दीर्घकालीन उपाय अन्तर्गत उत्तिसको बीउ छरिएको छ। पहिरो गएको ठाउँमा नयाँ रूख उम्रन समय लाग्ने भएका कारण छिटो र दीर्घकालीन उपायका रूपमा उत्तिसको बीउ छरिएको विभागका महानिर्देशक वाग्ले बताउँछन्। “नेपालमा अप्ठ्यारो ठाउँमा पहिरो जाने र आफैं बीउ उम्रन समय लाग्ने हुन्छ,” वाग्ले भन्छन्, “हाम्रोमा ड्रोनको प्रविधि छ, मान्छे पुग्न नसक्ने ठाउँमा ड्रोनबाट बीउ राख्न सकिन्छ कि भनेर परीक्षण गरेका छौं।”
पहिरो गएको ठाउँमा उत्तिस नै उत्तम हुने उनको भनाइ छ। यो छिटो उम्रिने भएकाले रातापहिरो क्षेत्रमा छरिएको उनी बताउँछन्।
वन तथा भूसंरक्षण विभाग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहकार्यमा जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना सञ्चालित छ। त्यही आयोजना अन्तर्गत बृहत् जलाधार व्यवस्थापन केन्द्र, गण्डकीको आयोजनामा रातापहिरो क्षेत्रमा ड्रोन प्रविधिको प्रयोग गरेर १० किलोग्राम उत्तिसको बीउ छरिएको निमित्त कार्यालय प्रमुख अमर अधिकारी बताउँछन्।
कसरी प्रयोग गरियो ड्रोन?
बीउ छर्ने ड्रोनका लागि विभागले इन्जिनीयरिङ अध्ययन संस्थान, पुल्चोकको सहयोग लिएको छ। कलेज अन्तर्गतको रोबोटिक्स एशोसिएशन नेपालको प्राविधिक सहयोगमा ड्रोनमा बीउ राख्न सकिने र आवश्यक क्षेत्रमा बीउ छर्न सक्ने प्रविधिको प्रयोग गरिएको हो।
प्रायः तस्वीर र भिडिओका लागि आकाशमा उडाएर प्रयोग गर्न सकिने यन्त्र हो, ड्रोन। यही ड्रोनमा बीउ राख्ने भाँडा जडान गरिएको छ। त्यसमा चाहे अनुसार बीउ छर्न सकिने प्रविधि तयार पारिएको रोबोटिक्स एशोसिएशन नेपालका सचिव ओमप्रकाश जैसवाल बताउँछन्। “बीउको साइज हेरेर त्यसै अनुरूपको सामान बनाउनुपर्ने हुन्छ। अहिले उत्तिसको बीउका लागि बनाएका हौं,” जैसवाल भन्छन्, “ड्रोनले एक पटक चार ग्रामको हाराहारीमा बीउ लैजान सक्छ।”
रातापहिरोको पारिपट्टि कास्की काँडेबाट ड्रोनमा उत्तिसको बीउ बोकाएर यस क्षेत्रमा छरिएको हो। ड्रोनमा यसरी प्रयोग गरिने प्रविधि संसारमै महँगो रहेको जैसवाल बताउँछन्। रोबोटिक्स एशोसिएशनले बनाएको बीउ छर्ने सामग्री अहिले सबैभन्दा सस्तो रहेको उनको भनाइ छ। “ड्रोन बाहेक बीउ बोक्ने र छर्ने सामग्री साढे दुई लाख रुपैयाँको हाराहारीमा बनायौं। जुन विश्वमा बनाइएको यस्तो प्रविधिमा सबैभन्दा सस्तो हो,” उनी भन्छन्।
ड्रोनबाट बीउ छरिएको यो पहिलो पटक भने होइन। आयोजना अन्तर्गत नै अघिल्लो वर्ष ओखलढुंगा र खोटाङमा नमूना परीक्षण गरिएको थियो। तल्लो दूधकोशी जलाधार क्षेत्रका पहिरोमा ड्रोनबाट विभिन्न प्रजातिको बीउ छरिएको थियो।
त्यसैको सिकाइलाई फेवा ताल जलाधार संरक्षणका लागि यस वर्ष परीक्षण गरिएको विभागका उपमहानिर्देशक तथा आयोजनाका राष्ट्रिय निर्देशक गणेश पौडेल बताउँछन्। “जहाँ मानव पुग्न सक्दैन, पहिरोले आक्रान्त बनेको छ, त्यस्ता ठाउँमा ड्रोन प्रविधिको प्रयोग गरेर चाहेको प्रजाति, चाहेको समयमा, चाहे जति परिमाणमा छर्न सकिन्छ,” पौडेल भन्छन्, “प्राकृतिक रूपमा बीउ पुग्न सक्दैन, यसरी विभिन्न प्रजातिका बीउ छर्न सक्यौं भने पहिरो रोक्न सहयोग पुग्छ।”
जलवायु संकटका कारण तापक्रम वृद्धि हुँदै जाँदा हिमालय क्षेत्रमा हिउँ पग्लिने दर बढ्दै गएको छ। जसको प्रभावले बहुप्रकोपका घटना बढ्दै गएको जलवायु विज्ञहरू बताउँछन्।
मनसुनको समयमा पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीको जोखिम बढिरहेको जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल मेटेरोलोजिस्ट विभूति पोख्रेल बताउँछिन्। “अहिले मनसुनमा पानी पर्ने दिन घट्दो क्रममा छ, कहिले पानी पर्दा लगातार ठूलो पानी पर्ने घटना भइरहेको छ,” पोख्रेल भन्छिन्, “मनसुनको चक्रमा आइरहेको फेरबदलले पहाडी भेगमा पहिरो जाने सम्भावना बढेको छ।”
यस्तो वेला पहाडी क्षेत्रमा पहिरो रोकथामका लागि ड्रोन प्रविधि सहयोगी बन्न सक्ने विज्ञहरू बताउँछन्। पहिरो गएको क्षेत्रमा मान्छे पुगेर बिरुवा रोप्न कठिन हुने भएकाले ड्रोनबाट बीउ छर्न सकिने उनीहरूको भनाइ छ।
अहिले तल्लो दूधकोशी जलाधार क्षेत्रमा ड्रोनबाट छरिएका बीउको प्रभावकारिताबारे अध्ययन पनि भइरहेको छ। अध्ययन भइरहेको र यसले पहिरो गएको क्षेत्रमा बिरुवा उमार्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजनाका राष्ट्रिय कार्यक्रम व्यवस्थापक प्रेमप्रसाद पौडेल बताउँछन्। उनी भन्छन्, “ड्रोन प्रविधिबाट छरिएका बीउले पहिरो गएका ठाउँमा चाँडै पुनरुत्थान गर्न सहज हुनेछ।”