नालापानीबाट कहाँ गए बलभद्र?
बलभद्र कुँवर नालापानी किल्लामा अंग्रेजसँग हारेपछि सीधै रणजित सिंहको सेनामा भर्ना हुन गएको र उनी भगौडा सैनिक रहेको भनी कतिपयले गरेको भ्रामक प्रचारलाई नै धेरैले सही ठानिरहेका छन्।
सीमित साधनस्रोतका भरमा शक्तिशाली अंग्रेजसँग युद्ध लड्दा कप्तान बलभद्र कुँवरले पराक्रमी सेनानायकका रूपमा नाम कमाए। उनैले मोर्चा सम्हालेको नालापानी किल्लामा नेपाली फौजको प्रहारबाट अंग्रेज सेनापति जिलेस्पीको मृत्यु भयो।
शत्रुपक्षले किल्लामा जाने पानीको मुहान थुनिदिएपछि पनि नेपालीले भोकै-प्यासै युद्ध लडे। भलै अन्तिममा बाध्य भएर किल्ला छाड्नुपर्यो। यस्तो गौरवपूर्ण र मार्मिक इतिहास रहेको नालापानी युद्धका नायक बलभद्रको सम्मानमा अंग्रेजहरूले शिलास्तम्भ खडा गरिदिए। यसले इतिहासमा उनको चर्चा अमिट बनाइदियो।
तर समयक्रममा बलभद्र विदेशी सेनामा ‘लाहुरे’ बने। विदेशीका लागि लडेर विदेशी रणमैदानमै ज्यान गुमाए।
हामीमध्ये धेरैका मनमा के कुरा स्थापित छ भने, उनी नालापानी किल्ला छाडेपछि सीधै लाहोर गई पन्जाबका राजा रणजित सिंहको सेनामा भर्ती भए। कतिले उनलाई पहिलो नेपाली लाहुरे र त कतिले भगौडा सैनिकसम्म लेख्न भ्याएका छन्। यस्तो गलत प्रचार गरिंदा पढ्नेको मनमा भ्रम गढेर बसेको छ।
किल्ला छाड्नुपर्ने बाध्यता
नालापानी किल्ला मैदानभन्दा ५०० मिटर माथि पहाडको टुप्पामा थियो। किल्लाभित्र जोडिएको एउटा साँघुरो सुरुङबाट गई नजिकैको सोतोबाट पानी ल्याएर नेपाली फौजले गुजारा चलाइरहेको थियो। तर किल्ला भेदन गर्ने दोस्रो प्रयास पनि विफल भएपछि अंग्रेजले नेपाली सेनालाई गलाउन त्यो खानेपानी रोकिदियो। पानी ल्याउने मुहानमै शत्रु सेनाले कडाइका साथ पहरा राखिदिंदा नेपाली सैनिक विपत्तिमा फस्न पुगेका थिए (बाबुराम आचार्य, ‘जनरल भीमसेन थापा : यिनको उत्थान र पतन’, २०६९ः१२५)।
नेपालीले किल्लाभित्र पनि सवा सय जति घ्याम्पामा पानी भरेर राखेका थिए जसबाट केही दिन धान्न सकिन्थ्यो। यो थाहा पाएपछि अंग्रेजहरूले गोली हानेर पानी राखिएका घ्याम्पा फुटाइदिए (महेशराज पन्त, पूर्णिमा पूर्णांक ३, कात्तिक २०२१ः६३)।
अर्कातिर लासको दुर्गन्ध फैलेर बसिसक्नु थिएन। कतिपय लास किल्लाको जमीनमुनि दबाइएको थियो। सबै लास गाड्न पुग्ने ठाउँ थिएन (आचार्य, २०६८ः१२६)।
विसं १८७१ मंसीर १५ गते आधा रातको कुरा। नालापानीका नेपाली सेनापतिहरू कप्तान बलभद्र कुँवर, सरदार रिपुमद्र्दन थापा, चामु बस्न्यात, गञ्जसिंह थापा खान लागेका थिए। पकाउन पानी नभएकाले उनीहरू काँचै चामल चपाइरहेथे। त्यसै वेला बाँकी सैनिक किल्ला छाडी निस्कन थाले। यो देखेपछि सेनापतिहरूले तिनलाई किल्ला छाडी गए असल हुनेछैन भनी चेतावनी दिए। उता अंग्रेजहरू नेपाली सैनिकलाई आफ्नो पक्षमा मिल्न बोलाइरहेथे। सेनापतिहरूको चेतावनीपछि धेरैजसो नेपाली सैनिक किल्ला फर्के, केही फर्केनन् (पन्त, कात्तिक २०२१ः६३)।
लासको दुर्गन्ध र पानीको हाहाकार त छँदै थियो, शत्रु सेनाको तोप प्रहारबाट किल्ला जीर्ण बन्दै गइरहेको थियो। गोली लागेर सैनिक घाइते भइरहेथे, धेरैजसो मरिरहेका थिए। यस्तो विकट अवस्थामा बलभद्र समेतका चार सेनापतिले मंसीर १६ गते ‘हामी मर्नै किल्लाभित्रै मर्छौं, किल्ला छाड्दैनौं, हामीसँग लड्न आएकासँग लडेर मात्रै मर्छौं ” भनी कबोल गराए। यस्तो कबोल गर्नेको संख्या ८५ पुग्यो (पन्त, कात्तिक २०२१ः६३)।
तर सोही दिन नजीकैको कालानल कम्पनीका नेपाली सैनिक नालापानीको यस्तो हविगत देखेर आफ्नो निशान सहित देहरादूनतिर हिंडे। त्यो थाहा पाएर बलभद्रहरूसँग कबोल गर्ने नालापानीका केही सैनिक पनि तिनकै पछि लागे। त्यहाँ केवल ५०/६० जना सैनिक बाँकी रहे। यसले गर्दा नेपाली सेनापतिहरू हतोत्साह हुन पुगे। त्यसपछि देहरादून हारिए पनि बाँकी पहाड थाम्नै पर्छ भनेर बलभद्रले विसं १८७१ मंसीर १६ गते नालापानी किल्ला छाडे (पन्त, कात्तिक २०२१ः६३)।
बलभद्र सकेसम्म त किल्ला छाड्नै चाहिरहेका थिएनन्। इतिहासकार महेशराज पन्तले पूर्णिमा पूर्णांक ४ (माघ २०२१ः७४-७५) मा प्रकाशन गरेको नालापानी युद्ध सम्बन्धी एक पत्रबाट यो थाहा हुन्छ। बलभद्र किल्ला छाडेपछि रणदिपसिंह बस्न्यात र रेवन्त कुँवरको समूहमा सामेल भएका थिए। त्यहाँबाट उनीहरूले नालापानी छाडेको विषयमा केन्द्रमा जनरल भीमसेन थापालाई विसं १९७१ मंसीर वदी १२ रोज ५ मा चमुवाबाट लेखेको पत्रमा “...वांहा रह्याका सुवा रिपुमद्र्दन थापा चामु बस्न्यात सुवेदार गंजसिं थापा ज्मदार बिजैसिं षतृ ज्मदार सिंहबिर घर्ति ज्मादार चन्द्रमनि रानाहरूले कपतालाई समाति निकास्याछन् दुवरा भन्याका गाउंमा आइ रात बस्याछन्” भन्ने उल्लेख छ। यसबाट बलभद्रलाई सहयोद्धा रिपुमद्र्दन थापा लगायतले किल्ला छाड्न मुश्किलले मनाएको बुझिन्छ।
किल्ला छाडेपछि
बलभद्र सहितको नेपाली फौज किल्लाबाट निस्कँदा मूलढोकामा मेजर लड्लोको नेतृत्वमा अंग्रेज सेना होशियारीसाथ बसिरहेको थियो। किल्लाभित्रबाट गोली चल्न छाडेपछि लड्लोले पनि आफ्ना सैनिकलाई गोली नचलाउन आदेश दिए। किल्ला बाहिर निस्केपछि नेपालीहरू मुहानतिर गए र अँजुलीमा पानी उठाएर प्यास मेटे। लड्लोले सोचेका थिए, नेपाली सेनाले आत्मसमर्पण गर्नेछ। तर कैयौं दिनदेखि भोकै भए पनि उनीहरू तुरुन्तै फुर्तीसाथ अर्को पहाडतिर उक्लिए। अंग्रेज फौजले बलभद्रलाई भेट्टाउने कोशिश नगरेको होइन, तर उनी अग्लो र दुर्गम किल्लामा पुगेर आड लिइसकेका थिए। त्यो रात लड्लोले नेपाली फौजलाई एक हजार सैनिकका साथ पिछा गरिरहेका थिए (आचार्य, २०६८ः१२६-२७)।
यसरी बलभद्रहरूले अंग्रेज सेनाको घेरा तोडेर बडो मुश्किलले ज्यान जोगाएका थिए।
पूर्णिमाको पूर्णांक ८४ (वैशाख २०५०ः२१)मा आचार्यका नामबाट उल्लेख भए अनुसार त्यस वेला नालापानीको उत्तर-पश्चिमतिर शत्रुको अधिकार जमिसकेकाले बलभद्र पूर्वतिर लागेका थिए। बीचमा दुई पक्षबीच गोली हानाहान हुँदा नेपाली पक्षका नौ जना परे भने अंग्रेज पक्षका तीन अफिसर सहित १५ जना हताहत हुँदा मेजर लड्लो पछि हटे। रातभर हिंडेर बलभद्रहरू गंगा किनारमा रहेको चतुवार गढी पुग्दा नालापानीको सहयोगका लागि हिंडेका २५० जना सैनिक सहित काजी रणदिपसिंह बस्न्यातसँग उनीहरूको भेट भयो। नालापानीकै सहयोगका लागि काठमाडौंबाट हिंडेका काजी रेवन्त कुँवर र जयन्तगढमा रहेका काजी रणजित कुँवरसँग पनि भेट भएपछि उनीहरू पहाड खण्डको जयन्तगढमा एकत्रित हुन पुगे।
पन्त (कात्तिक २०२१ः७१)ले यस प्रसंग स्पष्ट हुने गरी बलभद्रका सहयोद्धा रिपुमद्र्दन थापाले लेखेको पत्र प्रकाशन गरेका छन्। काठमाडौंमा जनरल भीमसेन थापा र काजी रणध्वज थापालाई विसं १८७१ पुस वदि १२ रोज १ मा श्रीनगरबाट पठाएको पत्रमा ‘श्री काजि रणदिपसिंहलाई चमुंवांमा राषि श्रीकाजि रेवंत कंवर श्री कपतान बलभद्र कंवर आफ्ना साथको गोलवल लि दूनपाटिमा भद्राक्षगढि र पारि वैराटगढिलाई सकस लागन्या गरी जगापारि जूनपूरमा-का तीर जौंट गढिमा बस्याका छन्. पश्चिम विस्तार श्रीबुढाकाजीबाट लेषि पठावनु भयाका चिठीले मालूम होला’ भन्ने परेको छ।
त्यस वेला डोटीदेखि सल्यानसम्मका रैतीले नेपाली सेनालाई रसद दिन इन्कार गरेका थिए। कुमाउ क्षेत्रका बासिन्दाले पनि विद्रोह मच्चाएर रसद र भरिया दिन इन्कार गर्दै लुटपाट मच्चाइदिंदा नेपाली फौज अप्ठ्यारोमा परेको थियो। सिरमोर र आर्कीतिर पनि विरोध मच्चिएको थियो। विसं १८७१ फागुनको मध्यतिरको यस्तो अवस्थामा बलभद्र कुँवर र अजम्बर पन्थले त्यहाँको बाटो खुलाएपछि मगराततिरबाट थाकेर त्यहाँ पुगेका नेपाली सैनिकहरू अलिअलि गर्दै रोजिन्दा मलाउको किल्लामा पुग्न सफल भएका थिए (आचार्य, २०६८ः३२-३३)।
नालापानी किल्ला छाडेका बलभद्र झ्याम्टाको युद्धमा पनि सहभागी थिए। जमोठबाट हिंडेको लस्करमा काजी रेवन्त कुँवरका साथ उनी झ्याम्टाको युद्धमा सामेल भए। पहिले पूर्वतिर लागेका अंग्रेजहरू झ्याम्टामा चढेका थिए। उनीहरूमाथि प्रत्याक्रमण गर्न काजी अजम्बर पन्थ र सरदार बालसुन्दर थापाका साथ बलभद्र पनि मोर्चामा सहभागी थिए। त्यति वेला नौनीटियामा काजी रणजोर थापा, काजी जसपाउ थापा, काजी रेवन्त कुँवर र सरदार भैरवसिंह थापा तैनाथ थिए। तर झ्याम्टाको युद्धमा नेपाली पक्षको हार हुन पुग्यो (प्राचीन नेपाल संख्या २४-साउन २०३०ः१८)।
सुगौली सन्धिपछि
खास गरी पश्चिमी मोर्चामा नेपालको हार हुँदै गएपछि त्यहाँका नेपाली सेनापति बडाकाजी अमरसिंह थापाले अंग्रेज सेनानायक अक्टरलोनीसँग वार्ता गरिरहेका थिए। त्यसै वेला नेपाली सैनिकलाई अंग्रेजहरूले आफ्नो सेनामा भर्ना गर्न थालिसकेका थिए।
नेपालको सैनिक इतिहास (शिवप्रसाद शर्मा (सम्पा.), २०४९ः२२८-२९) अनुसार अक्टरलोनीसँग अमरसिंहले गरेको सम्झौता अनुसार तीन बटालियनमा चार हजार ६५० नेपालीलाई भर्ना गरिसकिएको थियो।
अर्कातिर पन्जाबका राजा रणजित सिंहको सेनामा पनि नेपाली भर्ना हुन थालेका थिए। सुगौली सन्धिपछि बडाकाजी अमरसिंहका छोराहरू अर्जुनसिंह र भूपालसिंह थापा अनि अर्जुनसिंहका छोरा पनि पन्जाबी सेनामा भर्ना भइसकेका थिए (दिनेशराज पन्त, पूर्णिमा पूर्णांक ५-वैशाख २०२२ः६४)।
सन्धिपछि नेपाल सरकारले छाडेको कुमाउ, गढवाल र बाह्र ठकुराईमा रहेको नेपाली फौजमध्ये बम शाह, अमरसिंह थापा, बख्तावरसिंह बस्न्यातका साथ थोरै मात्र सैनिक स्वदेश फर्किए। अधिकांशलाई अक्टरलोनीले उतै रोकिराखेका थिए। यसरी उतै बसेका सबै नेपाली सैनिकलाई तत्कालीन मुख्तियार भीमसेन थापाले खारेज गरिदिएका थिए (आचार्य, वैशाख २०५०ः४७)।
स्वदेश फर्कनेमा कप्तान बलभद्र पनि थिए। उनी केही वर्ष नेपालमै सक्रिय रहे।
बुद्धिलाल भण्डारीद्वारा लिखित राष्ट्र निर्माणका केही योद्धाहरू (२०५०ः१००)मा प्रकाशित विसं १८७३ माघ सुदी १३ रोज ६ मा सरदार जगदेउ भण्डारीका नाममा जारी रुक्कामा उनको ठाउँमा बलभद्रलाई पठाइएको र जगदेउलाई फिर्ता बोलाइएको उल्लेख छ (दिनेशराज पन्त, पूर्णिमा पूर्णांक ९९-असोज २०५७ः६३-६४)। यस्तै इतिहासकार महेशराज पन्तले सुगौली सन्धिपछि बलभद्र नेपालमै सक्रिय भएको अर्को प्रमाण पनि फेला पारेका थिए। त्यो हो, विसं १८७३ माघ सुदी ६ रोज ५ को रुक्का। त्यसमा राजा राजेन्द्रविक्रम शाहले बलभद्रलाई सम्बोधन गर्दै उनका बुबाले दुल्लुमा श्रीइन्द्रज्वाला स्थापना गरेको र त्यसका लागि पाँच मुरीको गुठी स्थापना गरिएको उल्लेख छ (पन्त, २०५७ः६३-६४)।
यस्तो प्रमाण फेला परेपछि नालापानी किल्ला छाडे लगत्तै बलभद्र कुँवर लाहुर गएको भनी लेख्ने इतिहासकारहरू महेशराज पन्त र दिनेशराज पन्तले आत्मसंशोधन गरिसकेका छन्।
पन्जाबको आकर्षक तलब
एकातिर युद्धमा पराजय, अर्कातिर केन्द्रमा तत्कालीन मुख्तियार जनरल भीमसेन थापाको जगजगी। यस्तो अवस्थामा पश्चिमी मोर्चाबाट फर्केका बडाकाजी अमरसिंह थापा समेत जिम्मेवारीविहीन थिए। त्यही क्रममा गोसाइँकुण्ड तीर्थ गएका उनले उतै देहत्याग गरे।
युद्धबाट फर्किएपछि बलभद्रले पनि उचित जिम्मेवारी पाएनन्। त्यसैले उनले रणजित सिंहको सेनामा भर्ना भइसकेका आफ्ना मामाहरू अर्जुनसिंह र भूपालसिंहसँग अन्य मुलुक जाने इच्छा जनाएका थिए। रामराजा कुँवर र धनबहादुर कुँवरद्वारा लिखित नालापानीका नायक वीर बलभद्र कुँवर (२०६९ः५१-५२) अनुसार उनले आफ्ना मामाहरूसँग ‘मुलुकभित्र खुकुरीको शान र अवसर या अवस्था नभएको देखिएकोले अन्य मूलुकमा जाने’ बताएका थिए। यही चाहना अनुसार उनले विसं १८७६/७७ ताका नेपाली फौजबाट अवकाश लिएका थिए। बडाकाजी अमरसिंह थापाका छोरीतिरका नाति हुन् बलभद्र। पुस्तकका लेखक रामराजा कुँवर बलभद्रकै सन्तति हुन्।
बलभद्र आफ्नो फौजमा भर्ना हुँदा राजा रणजित सिंह निकै खुशी थिए भन्ने लाहोरबाट पठाइएको एक पत्रको बेहोराले पनि स्पष्ट पार्छ। दिनेशराज पन्तले पूर्णिमा पूर्णांक ५ (वैशाख २०२२ः६७-६८)मा प्रकाशमा ल्याएको पत्रमा यस्तो लेखिएको छः
...बलभद्र कवरलाई रणजित् सिंहले गोर्षाली पल्टं पनि तैनाथ गरिदियो. आजकल नञा मानिस पनि २।४ सय जमा भया भंन्या खबर सुवेदार दलजित् कार्किले ल्यायाथ्या सोहराको षवर भन्या डाकमा जल् मगाई श्नान गरींछ अव ता सम्म अम्मल् चाडै गर्नु पर्यो भनि कचहरिमा बलभद्र कवरमा आगमा धाप मारि रणजित् सिंले भन्या पनि सुनियो...बलभद्र पुग्यापछि फिरि सिष्लाई लेषदा पठाईदेउ भनि लेषि पठाया र डेरा तंवु घोडा दि आफ्ना मानिस् पठाईदियाथ्या. पहिले भन्या १० रूपैञा रोज गरिदिया. कचहरिमा जान्नको षुल्लस् भयाको थियेन. अव भन्या षर्चमा पनि ५ रूपैञा थपि १५ रूपैञा रोजको भयो. रणजित् सिंको कचहरिमा चौथा दिन्मा आउनु. बलभद्र कवर आउदा कौनै डेउढिमा कसैले नरोकनु भंन्या उर्दि भयो. बढियै तरहसित रह्याको छ।
यो पत्रबाट अर्को के पनि देखिन्छ भने काठमाडौं केन्द्रबाट भीमसेन थापाले बलभद्र सहित रणजित सिंहको गतिविधि चियो गर्न कसैलाई खटाएका थिए। इतिहासकार डा. प्रेमसिंह बस्न्यातले त आफ्नो पुस्तक नेपाल-अंग्रेज युद्धको २०० वर्ष (२०७१ः१५७-५८)मा भीमसेनले बलभद्रलाई काठमाडौंबाट खेदेको र उनी लाहोर गएको दुई वर्षसम्म उनका बारेमा जासूसी गर्न एक जना सुवेदारलाई गोप्य रूपमा पठाएको उल्लेख गरेका छन्।
माथिको पत्र अनुसार लाहोर पुगेपछि बलभद्रको तलब पहिले दैनिक १० रुपैयाँ थियो र पछि त्यो बढेर १५ रुपैयाँ पुगेको थियो। यसलाई हिसाब गर्दा बलभद्रको तलब मासिक ४५० र वार्षिक पाँच हजार ४०० रुपैयाँ हुन आउँछ।
त्यति वेला यो निकै ठूलो रकम थियो। त्यो समय नेपालमा मासिक नभई वार्षिक रूपमा र त्यसमा पनि जग्गाजमीन जागीर बापत दिइने चलन थियो।
नेपालमा कप्तान हुँदा बलभद्रले कति तलब बुझ्थे, यसबारे कतै पढ्न पाइएको छैन। तर उनी नालापानी युद्धमा लडेको समयभन्दा ३९ वर्षपछिको जंगबहादुर लगायत राणाखलकले पाउने तलबको दर भने इतिहासकार महेशचन्द्र रेग्मीले प्रकाशमा ल्याएका छन्। त्यो वेला सर्वसाधारणका छोराछोरीलाई भुक्तान गरिनेभन्दा राणाहरूको तलब तुलना गर्नै नसकिने उच्च हुन्थ्यो। विसं १९१० मा कप्तान दर्जामा रहेका जंगबहादुरका दुई बालक छोरा फत्तेजंग र बबरजंगको वार्षिक तलब जनही पाँच हजार एक रुपैयाँ थियो (महेश सी. रेग्मी, ‘रेग्मी रिसर्च सेरिज’, वर्ष ८ अंक १-जनवरी, सन् १९७६ः१७)।
जनसाधारणबाट कप्तान दर्जामा पुगेका सैन्य अधिकारीलाई भुक्तान गरिने तलब २००७ सालतिर पनि धेरै थिएन। इतिहासकार रामजी उपाध्यायले आफ्नो पुस्तक नेपालको इतिहास अर्थात् दिग्दर्शन (२००७ः९०)मा उल्लेख गरे अनुसार त्यस वेला मेजर कप्तानको एक हजार ५००, कप्तानको एक हजार २००, लप्टनको ९०० र सुवेदारको ३६० रुपैयाँ वार्षिक तलब थियो।
यसबाट हेर्दा बलभद्रलाई रणजित सिंहले अत्यन्तै आकर्षक तलब दिएको स्पष्ट हुन्छ।
यसरी स्वदेशकै लागि लडेको युद्धमा पराक्रमी भनी नाम कमाएका बलभद्रले लाहुरेका रूपमा पेशावरको युद्धमा अफगानिस्तान विरुद्ध लड्दा विसं १८७९ चैत ३ गते रणमैदानमै ३३ वर्षको भर्भराउँदो जवानीमै ज्यान गुमाएका थिए।