सहकारीमा सवा करोड, उपचार खर्च अभावमा गयाे ज्यान
सहकारीको खातामा सवा करोड रुपैयाँ भएका काठमाडौंको शंखमूलका राजेन्द्र स्थापितले टाउकाको शल्यक्रियाका लागि अस्पतालमा पाँच लाख रुपैयाँ जम्मा गर्न नसक्दा ज्यान गुमाएका छन्।
शान्तिवाटिकामा रिले अनशनमा बसिरहेका सहकारीपीडितसँगै आन्दोलनमा सहभागी थिए, काठमाडौं, शंखमूलका ७२ वर्षीय राजेन्द्र स्थापित। एक साताअघि उनी पनि रिले अनशनमा पालो दिइरहेका थिए।
सहकारीपीडितले साउन १७ गते मुखमा टेप लगाएर गरेकाे प्रदर्शनमा स्थापित पनि सहभागी थिए। मानव साङ्लो बनाएर गरिएको प्रदर्शनपछि शान्तिवाटिकामा उनी पनि नारा लगाइरहेका थिए, “सहकारीपीडितलाई न्याय देऊ।”
साउन तेस्रो साता उनी एक्कासि बिरामी परे। टाउको दुख्न थाल्यो। उनीसँगै आन्दोलनरत सहकारीपीडितले अस्पताल जान सल्लाह दिए। साउन २२ मा नजीकैको वीर अस्पताल भर्ना भए। अस्पताल जानुअघि उनले सहकर्मीलाई भनेका थिए, “फेरि ठूलो प्रदर्शन गर्नुपर्छ।”
स्थापितले भने जस्तै साउन २७ मा सहकारीपीडितले पानीमा भिज्दै ठूलो प्रदर्शन गरे। दश दिनकाे अन्तरमा भएकाे यो प्रदर्शनमा ७२ वर्षीय स्थापित थिएनन्, उनको तस्वीर टाँसिएको शव बोक्ने बाकस थियो। प्रदर्शनमा उत्रिएका पीडित नारा लगाइरहेका थिए, “उपचार नपाएर मृत्यु भएका राजेन्द्र स्थापितलाई न्याय देऊ।”
एक साताअघि उपचारका लागि वीर अस्पतालमा भर्ना भएका स्थापितको साउन २६ गते बिहान २ बजे मृत्यु भएको छ। टाउकाको शल्यक्रिया गर्न चाहिने पाँच लाख रुपैयाँ जम्मा गर्न नसक्दा उपचार नपाएर उनको मृत्यु भएको सहकारीपीडितको आरोप छ। “चिकित्सकले शल्यक्रिया गर्न पाँच लाख चाहिन्छ भनेका थिए, पाँच लाख रुपैयाँ जम्मा गर्न नसक्दा शल्यक्रिया भएन र उहाँको मृत्यु भयो,” सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसी भन्छन्।
नातेदारका अनुसार स्थापित दम्पतीका सन्तान छैनन्। उनी किराना पसल चलाउँथे। ६४ वर्षीया पत्नी दात्रीबाबा बज्राचार्य नेपाल ब्यांकबाट अवकाश प्राप्त कर्मचारी हुन्।
सन्तान नभएकाले स्थापित दम्पतीले बुढेसकालका लागि पैसा जोगाउँदै आएका थिए। उनीहरूले पैसा जोगाएर राखेको चाल पाएपछि एक दिन युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष किसन राईले स्थापित दम्पतीलाई भेटे। आफू अध्यक्ष रहेको सहकारी निकै विश्वासिलो भएको र ब्यांकले भन्दा बढी ब्याज दिने पनि सुनाए।
स्थापित दम्पतीले उनलाई सहजै विश्वास गरे। २०७४ सालमा ब्यांकबाट सबै रकम निकालेर युवा सहकारीमा राखे। उनीहरूले विभिन्न समयमा गरेर एक करोड ३६ लाख रुपैयाँ जम्मा गरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष केसी बताउँछन्। बज्राचार्यले ब्यांकबाट अवकाश पाउँदा प्राप्त गरेको रकम पनि सहकारीमै जम्मा गरेको केसी सुनाउँछन्।
शुरूआतमा त ब्याज पनि पाए। पछिल्लो तीन वर्षदेखि भने सहकारीले ब्याज दिन पनि छोड्यो। अध्यक्ष राईले फोन उठाउन पनि छोडेको स्थापितले बताउँदै आएका थिए। त्यसपछि उनी पनि १६ महीनायता सहकारीपीडितको आन्दोलनमा सहभागी हुन भइरहेका थिए।
अहिले सहकारीपीडित तेस्रो चरणको आन्दोलनमा छन्। गत जेठ १६ गतेदेखि शान्तिवाटिकामा रिले अनशनमा छन्। एक साताअघि स्थापित पनि रिले अनशनमै थिए। बिरामी भएर वीर अस्पताल भर्ना भएपछि चिकित्सकले ‘ब्रेन ह्यामरेज’ भएको बताएका थिए।
अस्पतालले स्थापितको टाउकाको शल्यक्रिया गर्न पाँच लाख रुपैयाँ जम्मा गर्न भनेको थियो। “शल्यक्रिया गर्न पाँच लाख जम्मा गर्नुपर्छ, सहकारीले दिएको छैन भनेर उहाँकी श्रीमती शान्तिवाटिकामा आउनुभएको थियो,” आन्दोलनरत सहकारीपीडित रिता भट्टराई बस्नेत भन्छिन्।
अस्पतालले तत्कालै रकमको जोहो गर्नुपर्ने बताएपछि सहकारीपीडित गएर युवा सहकारीका अध्यक्ष राईलाई भेटेका थिए। शल्यक्रियाका लागि पैसा मागेको बताउँदै बस्नेत भन्छिन्, “अपरेशन गर्न पाँच लाख चाहिने भएपछि हामीले सहकारीका अध्यक्षलाई हारगुहार गर्यौं।”
सबैले दबाब दिएपछि अध्यक्ष राई अस्पताल पुगेका थिए। पैसा नभएर उपचार रोकिएको जानकारी पाएपछि राईले उपचार खर्च दिने बताएका थिए। “अस्पताल पुगेका अध्यक्ष राईले उपचारका लागि पैसा दिन्छु पनि भनेका थिए,” सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष केसी भन्छन्, “तर पैसा दिएनन्। अनि अस्पतालले पनि पैसा विना अपरेशन गरिदिएन।”
वीर अस्पताल प्रशासनले साउन २५ गते राति पनि बज्राचार्यलाई ‘पाँच लाख रुपैयाँ छ त?’ भनेर सोधेको उनी सुनाउँछन्। बज्राचार्यले ‘सहकारी सञ्चालकले पैसा दिएको छैन, मागिरहेकी छु’ भनेर जवाफ दिएकी थिइन्। तर त्यसको केही घन्टापछि बिहान २ बजे स्थापितको ज्यान गयो।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल ‘ब्रेन ह्यामरेज’ को उपचार निकै महँगो हुने भएकाले आर्थिक रूपमा तयार रहन भनेको भए पनि पैसाकै कारण शल्यक्रिया नरोकिएको बताउँछन्। शल्यक्रियाका लागि बिरामीलाई तयार गर्दागर्दै मृत्यु भएको डा. पौडेलको भनाइ छ। “ब्रेन ह्यामरेजको अपरेशन भनेको निकै ठूलो हो, त्यसका लागि पहिला बिरामीलाई स्थिर बनाउनुपर्छ,” निर्देशक पौडेल भन्छन्, “अपरेशन गर्ने कुरा पनि भएको थियो। त्यसमा प्रयोग हुने सामग्री निकै महँगो हुने भएकाले आर्थिक रूपमा पनि तयार रहनुस् भनेका थियौं।”
यस विषयमा सहकारीका अध्यक्ष राईसँग फोन सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ थियो। स्थापितको मृत्यु भएपछि उनी कसैको पनि सम्पर्कमा आएका छैनन्।
बज्राचार्यले वीर अस्पताल र सहकारी विरुद्ध प्रहरीमा उजुरी दिएकी छन्। ‘ब्रेन ह्यामरेज’ जस्तो गम्भीर समस्या हुँदा पनि अस्पतालले शल्यक्रियामा ढिलाइ गरेको भन्दै छानबिनका लागि आग्रह गरेकी छन्।
त्यस्तै, सहकारीका अध्यक्ष राईले पैसा नदिएका कारण उपचार हुन नसकेको भन्दै उजुरी दिएकी हुन्। उजुरीमा अध्यक्ष राईमाथि पनि छानबिनको माग गरिएको छ।
यो पनि पढ्नुहोस् :