शेयर बजारमा नयाँ कीर्तिमान, एकै दिन पाैने २६ अर्बको कारोबार
शेयर बजारमा आइतबार नयाँ कीर्तिमान कायम भएको छ।
नेपाल स्टक एक्सचेन्जमा आइतबार २५ अर्ब ७८ करोड रुपैयाँको शेयर किनबेच भएको हो। जुन कारोबार एकै दिनमा भएको अहिलेसम्मकै उच्च हो। यसअघि साउन २२ मा २३ अर्ब ७१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो।
आइतबार शेयर कारोबारको रकम मात्रै होइन, शेयर बजार परिसूचक पनि ३.४१ प्रतिशतले बढेको छ। नेप्से परिसूचकले ९४.५३ अंकको फराकिलो वृद्धि सहित दुई हजार ८६० बिन्दु पार गरेको हो। यो अढाई वर्षयताकै उच्च हो।
पछिल्लो एक महीनामा शेयर बजारमा असाधारण वृद्धि आएको छ। कम्पनीहरूको शेयर मूल्यमा आएको वृद्धिसँगै लगानीकर्ताको सम्पत्ति पनि १० खर्ब ५० अर्ब रुपैयाँभन्दा बढीले बढेको छ।
एक महीनाअघि असार २७ मा शेयर बजारको पूँजीकरण ३४ खर्ब ९६ अर्ब रुपैयाँ रहेकामा साउन २७ मा बढेर ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगिसकेको छ।
आइतबार शेयर बजारमा दुई दर्जन कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। यीमध्ये अधिकांश जलविद्युत् क्षेत्रका कम्पनी छन्। कारोबार भएकामध्ये २२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ वटाको मात्रै घटेको छ।
सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा लगायत कम्पनीका शेयर किनबेच भए।