हेटौंडामा पनि र्याफ्टिङ शुरू
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा पनि र्याफ्टिङ शुरू भएको छ।
नेचर स्पोर्टस् एन्ड एड्भेन्चर्स प्रालिले हेटौंडा-१० स्थित राप्ती पुलदेखि मनहरी गाउँपालिका-९ को रजैयासम्म र्याफ्टिङ सञ्चालनमा ल्याएको हो। मनहरी गाउँपालिकाको पहलमा र्याफ्टिङ सञ्चालन गरिएको जनाइएको छ।
र्याफ्टिङ व्यवसायबाट स्थानीयको आर्थिक विकासमा टेवा पुग्ने भएकाले पहल गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए। यसबाट आन्तरिक पर्यटन र आर्थिक विकासमा सहयोग पुग्ने अध्यक्ष कालाखेतीको भनाइ छ।
राप्ती खोलामा शुरू गरिएको र्याफ्टिङ सेवा हेटौंडाको राप्तीपुलदेखि रजैया-ज्यामिरेसम्म सञ्चालन हुनेछ। जुन झन्डै चार घन्टाको यात्रा हुनेछ।
राप्ती नदीको बहाव, सुरक्षा र मनोरञ्जनका दृष्टिले वर्षा याममा र्याफ्टिङको राम्रो सम्भावना रहेको एड्भेन्चर्सले जनाएको छ। सुरक्षा र मनोरञ्जनको दृष्टिले पनि उत्कृष्ट रहेको र्याफ्टिङ गाइड हिमाल मिजारले बताए।
कम्पनीले हेटौंडाको राप्तीपुलदेखि मनहरी ज्यामिरेसम्मको र्याफ्टिङका लागि प्रतिव्यक्ति ९०० रुपैयाँ शुल्क तोकेको छ। खाना सहित प्रतिव्यक्ति एक हजार २०० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ।