विद्युत् चुहावट आधा घट्यो, वर्षमा १२ अर्ब थप आम्दानी
नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणाली मार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ।
आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट गत आव २०८०/८१ मा १२.७३ प्रतिशतमा ओर्लिएको प्राधिकरणले दाबी गरेको छ। प्राधिकरणको नाफा उल्लेख्य बढ्नुमा विद्युत् चुहावट नियन्त्रण नै मुख्य कारण रहेको प्राधिकरणको भनाइ छ।
अहिले भइरहेको विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ ३.३३ प्रतिशत र वितरणतर्फ ९.४० प्रतिशत छ। आठ वर्षअघिको २५.७८ प्रतिशत विद्युत् चुहावटमध्ये १९.८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो। प्राधिकरणले विद्युत् चोरी नियन्त्रणमा पर्याप्त पहल गरेकाले चुहावट आधामा झरेको दाबी गरेको छ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर चुहावट नियन्त्रणमा ठूलो सफलता हासिल भएको बताए। उनले प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्ष रूपमा अर्बौं रकम गुमिरहेको बताउँदै प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रूपमा घटेको बताए।
घिसिङले भने, “यस अवधिमा चुहावट नियन्त्रणबाट मात्र प्रतिवर्ष करीब १२ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, गुमिरहेको रकम उठाउन सफलता मिल्दा यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको नाफामा देखिएको छ।” उनले चुहावटलाई १० प्रतिशतभन्दा कममा झार्ने लक्ष्य राखी काम अघि बढाइरहेको बताए।
आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ खूद नोक्सानीमा रहेको प्राधिकरणले निरन्तर नाफा बढाएर गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ।
प्राधिकरणले ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेशन सञ्चालन, सबस्टेशन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमले प्राविधिक चुहावट नियन्त्रण गरेको जनाएको छ।
त्यस्तै, गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसूल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाएको जनाएको छ।