बडिगाडको पहिरोले ५० परिवार विस्थापित
बाग्लुङको बडिगाडमा पहिरोका कारण ५० परिवार विस्थापन भएका छन्।
बडिगाड गाउँपालिका-९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लाबझिङ, खोर, सल्लेनधारा लगायत बस्तीका बासिन्दा विस्थापित छन्। चार दिनअघि आएको पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो।
पहिरोमा पुरिएका एक जनाको अवस्था अझै अज्ञात छ। उनको खोजी भइरहेको स्थानीय बासिन्दाले बताएका छन्।
पहिरोका कारण विस्थापित परिवार बिचल्लीमा छन्। त्यहाँ खानेपानी तथा विद्युत् आपूर्ति ठप्प छ। बालबालिका र वृद्धवृद्धा झन् समस्या परेका छन्।
स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको बताए। आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेको उनले बताए।
विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिक स्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले बताए। गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको वनले बताए। पालिकाले खाद्यान्न, त्रिपाल, बत्ती लगायत अत्यावश्यक सामग्री उपलब्ध गराएको बताउँदै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल भइरहेको उनको भनाइ छ। -रासस