राजनीतिक अस्थिरताको कारक समानुपातिक प्रणाली र थ्रेसहोल्ड होइन : इला शर्मा
समानुपातिक निर्वाचन प्रणाली र ‘थ्रेसहोल्ड’ राजनीतिक अस्थिरताको कारक नभएको सरोकारवालाले बताएका छन्।
मार्टिन चौतारीमा आयोजना गरेको ‘निर्वाचन प्रणालीमा कहाँ छ समस्या?’ विषयक कार्यक्रमका सहभागीले समानुपातिक निर्वाचन प्रणाली हटाउँदैमा राजनीतिक स्थिरता नआउने बताए।
कार्यक्रममा बोल्दै पूर्व निर्वाचन आयुक्त इला शर्माले निर्वाचन प्रणालीमा समस्या नभएको बताइन्। “समानुपातिक प्रणालीको कारण अस्थिरता नभएर दलको नियत र प्रवृत्तिको समस्या हो,” शर्माले भनिन्।
पछिल्लो समय निर्वाचन खर्चिलो हुने भएकाले महिला र दलित प्राथमिकता नपरेको उनको भनाइ थियो। उनले दलभित्रको लोकतन्त्र कायम राख्नुपर्नेमा जोड दिइन्। खर्चिलो निर्वाचनलाई नियन्त्रण गर्न आयोगले प्रयास गरिरहेको उल्लेख गर्दै नागरिक समाज र मिडियाले साथ दिनुपर्ने बताइन्।
त्यस्तै, राजनीतिक विश्लेषक तुलानारायण साहले समानुपातिक निर्वाचन प्रणालीले नै अस्थिरता ल्याएको भाष्य गलत भएको बताए। २०६४ सालअघि समानुपातिक प्रणाली नहुँदा पनि राजनीतिक स्थिरता नभएको उनले जिकिर गरे।
२०४८, २०५१ र २०५६ सालको चुनाव उल्लेख गर्दै साहले प्रश्न गरे, “२०४८ सालमा कांग्रेसले बहुमत ल्याएको हो। के त्यो वेला स्थिर सरकार भयो? २०७४ सालमा एमाले-माओवादी मिलेर नेकपा बनाए र बहुमत पुग्यो। के स्थिर सरकार भयो?”
त्यस्तै, तीन प्रतिशत ‘थ्रेसहोल्ड’ लाई बढाएर १० प्रतिशत बनाउने एमाले र कांग्रेस नेताहरूको भनाइप्रति पनि उनले असहमति जनाए। यो सबै प्रपञ्च साना दललाई आउन नदिने र देशलाई दुई दलीय शासन प्रणालीमा लैजान गरिएको उनको भनाइ थियो।
त्यस्तै, अधिकारकर्मी मोहना अन्सारीले गठबन्धनका कारण महिलाको प्रतिनिधित्व घटेको बताइन्। अन्सारीले भनिन्, “अब बन्ने निर्वाचन सम्बन्धी कानूनमा यसलाई सम्बोधन गरिनुपर्छ।”