देश गरीबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरीबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा नहुने बताएका छन्।
लायन्स इन्टरन्याशनल डिस्ट्रिक्ट ३२५ ‘के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न रोजगारी, उत्पादन र उद्यमशीलतामा विशेष जोड दिन आवश्यक भएको बताए। उनले त्यसतर्फ नै सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे।
“अझै पनि २० प्रतिशत नेपाली गरीबीको रेखामुनि छन्। भोका बालबालिका र मानिसलाई खानेलाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन,” प्रधानमन्त्री ओलीले भने, “हालै संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँगको भेटमा मैले यो कुरा गरेको थिएँ।”
उनले मानवको रक्षा पहिलो दायित्व सोचेर काम गर्नुपर्नेमा जोड दिए। “मानव जगत्को सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चासो हो। मानव जाति नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामा जोखिम पर्न सक्छ। अशान्ति हुन सक्छ। त्यसैले मानवको रक्षा पहिलो दायित्व हो भन्ने भावनाका साथ सबैले काम गर्नुपर्छ,” ओलीले भने।
आफूले सत्य र निष्ठाको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको उनको भनाइ छ। “म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ। म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ,” ओलीले भने।
प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै आफूूलाई अग्लो देखाउन अरूलाई होचो भन्ने वा असत्य कुरालाई आधार मानेर गालीगलौज र बदनाम गर्नेको प्रवृत्ति सही नहुने बताए। (रासस)