पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
तीन ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
गए राति सुर्खेत-जुम्ला सडकखण्ड अन्तर्गतको कालीकोटको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो। बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय, जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले बताए।
राँचुली, मोल्फा लगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगन्ज तथा काठमाडौंतर्फ चल्ने सवारीसाधन बाटामै रोकिएका छन्। रातिदेखि नै सयौं यात्रु अलपत्र परेका छन्।
त्यस्तै, पश्चिम म्याग्दीको बेनी-दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी-दरबाङ सडक अवरुद्ध भएको छ। पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको प्रहरीले जनाएको छ।
पश्चिम म्याग्दीका तीन पालिकासँगै बाग्लुङको पश्चिम क्षेत्र जोड्ने बेनी-दरबाङ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएको हो। सडकखण्डको बेनी नगरपालिका-४, सिंगा तातोपानीको घुमाउने भीर, मालिका गाउँपालिका-६ को बांगेभीर र मंगला गाउँपालिका-२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटक पटक सडक अवरुद्ध हुने गरेको छ।