१७ वर्ष नपुग्दै विवाह गर्ने बालबालिका ७४ हजार
कानूनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरे पनि देशमा कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ।
राष्ट्रिय जनगणना, २०७८ को बालबालिका सम्बन्धी तथ्यांकीय प्रतिवेदनले २०७८ सालमा ७४ हजार २७२ जनाले १० देखि १७ वर्षको उमेरमै विवाह गरेको देखाएको हो। यसले देशमा बालविवाहको समस्या गम्भीर रहेको देखाएको छ।
१७ वर्षभन्दा कम उमेरमै विवाह गरेकामध्ये आधा जति ग्रामीण क्षेत्रका छन्। बाँकी अर्धशहरी र शहरी क्षेत्रमा बसोबास गर्ने बालबालिका छन्।
संख्याका आधारमा सबैभन्दा धेरै बालविवाहको समस्या मधेशमा देखिएको छ। मधेश प्रदेशमा १६ हजार ३४७ बालबालिकाको १७ वर्षभन्दा कम उमेरमै विवाह भएको पाइएको छ।
लुम्बिनीमा १३ हजार ७३८ जना बालबालिकाको विवाह भएको छ। तर कुल विवाहितमध्ये बालविवाह गर्नेको अनुपात कर्णालीमा सबैभन्दा धेरै २.६२ प्रतिशत छ। त्यस्तै, गण्डकीमा १.८७ प्रतिशत छ।
बाल्यकालमै विवाह भएकामध्ये ५३४ जना एकल भएको, १०७ जनाको पारपाचुके भएको र २२२ जना छुट्टिएको देखिएको छ।
जनगणनामा २० देखि २४ वर्ष उमेर पुगेका विवाहित बालबालिकालाई सोधिएको विवाहको उमेर सम्बन्धी प्रश्न अनुसार १४.१ प्रतिशत उत्तरदाताले आफ्नो विवाह १८ वर्ष नपुग्दै भएको उत्तर दिएका थिए। यसरी उत्तर दिएकामध्ये २१.९ प्रतिशत बालिका थिए। यसले पाँचमध्ये एक बालिकाको १८ वर्षको उमेर नपुग्दै विवाह भइरहेको देखिएको छ।
आर्थिक स्थिति अनुसार गरीब घरपरिवारमा जन्मिएका बालबालिकाको विवाह छिटै हुने गरेको पनि प्रतिवेदनले औंल्याएको छ। अति न्यून परिवारका २०.८ प्रतिशतको विवाह १८ वर्ष नपुग्दै हुने गरेकामा अति धनी परिवारका भने ४.९ प्रतिशतको मात्रै १८ वर्ष नपुग्दै विवाह भएको देखिएको छ।
प्रतिवेदनले नेपालमा बालबालिकाको वार्षिक वृद्धिदर नै ऋणात्मक रहेको देखाएको छ। २०६८ देखि २०७८ सालको एक दशकभरिमा नेपालमा बालबालिका (०-१७ वर्ष)को संख्या त्योभन्दा अघिल्लो दशकका तुलनामा पाँच लाख ११ हजारले घटेको देखिएको छ।
२०७८ सालमा देशमा बालबालिकाको संख्या ९८ लाख ६९ हजार मात्रै देखिएको थियो। एक दशकअघि यो एक करोड १० लाख ८४ हजार थियो। यसले एक दशकमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घटेको देखाएको हो। वार्षिक रूपमा यस्तो वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक छ।
बालबालिकामध्ये पनि बालिकाको वृद्धिदर अझ घटेको छ। एक दशकमा बालकको संख्यात्मक वृद्धिदर ९.१ प्रतिशत ऋणात्मक भएकामा बालिकाको वृद्धिदर १२.९ प्रतिशत ऋणात्मक छ। यसले बालिकाको जन्मदर घटेको देखिएको हो। खासगरी, जन्मिनुअघि नै गर्भमा लिंग पहिचान गरी बालक मात्रै जन्माउने अभिभावकको प्रवृत्तिले यस्तो भएको हुन सक्ने संकेत गर्छ।
राष्ट्रिय जनगणना, २०७८ ले जन्मदर घटेकाले वार्षिक जनसंख्या वृद्धिदर नै ०.९२ प्रतिशतमा सीमित रहेको यसअघि नै देखाइसकेको छ। बालबालिका जन्मिने दर कम भएका कारण कुल जनसंख्यामा बालबालिकाको हिस्सा पनि घट्दो छ। २०६८ सालमा कुल जनसंख्यामा बालबालिकाको हिस्सा ४१.८ प्रतिशत रहेकोमा अहिले ३३.८ प्रतिशत मात्रै छ।
प्रतिवेदनले नेपालभर ५.३ प्रतिशत बालबालिकाले कहिल्यै विद्यालयको अनुहार नदेखेको र ५.४ प्रतिशत बालबालिकाले कहिल्यै कलेजको अनुहार नदेखेको देखाएको छ। त्यस्तै, देशभर १.२ प्रतिशत अपांगता भएका बालबालिका रहेको पनि देखिएको छ।