मधेशका मुख्यमन्त्रीसँग जनमत पार्टीले माग्यो स्पष्टीकरण
मधेश सरकारमा राज्यमन्त्री थपेको विषयलाई लिएर जनमत पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंहसँग स्पष्टीकरण मागेको छ।
जनमत पार्टीले चार वटा विषयमा मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण मागेको प्रवक्ता डा. शरदसिंह यादवले बताए। “पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँड गर्नुभएको थियो। अहिले आएर राज्यमन्त्री थप्नुभएको छ,” प्रवक्ता यादवले हिमालखबरसँग भने, “पार्टीसँग समन्वय नगरी ठूलो मन्त्रिपरिषद् बनाएको विषयमा स्पष्टीकरण मागेका छौं।”
प्रवक्ता यादवका अनुसार काम गर्न नसकेको विषयमा पनि स्पष्टीकरण गरिएको छ। परिणाम देखिने गरी जनताको हकहितका लागि मन्त्रालयको काममा ध्यान दिनुभन्दा अनावश्यक उद्घाटन समारोहमा समय खर्चिएको जनमतको आरोप छ।
त्यस्तै, पार्टीले दिएको निर्देशन बेवास्ता गरेको पनि मुख्यमन्त्री सिंहलाई आरोप लगाइएको छ। यससँगै बजेट बनाउने क्रममा सांसदलाई पाँच करोड रुपैयाँ दिने विवादास्पद अभिव्यक्ति दिएर पार्टीको छविमा आँच पुग्ने काम गरेको पनि स्पष्टीकरणमा उल्लेख छ।
मुख्यमन्त्री सिंहले साउन २२ मा मात्रै पाँच राज्यमन्त्री थपेका थिए। अहिले मधेश प्रदेश सरकारमा आठ राज्यमन्त्री छन्। सातै प्रदेशमा सबैभन्दा धेरै २० सदस्यीय मन्त्रिपरिषद् मधेशकै हो।
यो पनि पढ्नुहोस् : मधेश प्रदेशका मन्त्रिहरूको तलब मात्रै १२ लाख