टीआरसी विधेयकका त्रुटि सच्याएर मात्रै पारित गर्न जवाफदेहिता निगरानी समितिको माग
जवाफदेहिता निगरानी समितिले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा गम्भीर त्रुटि रहेको जनाउँदै सच्याएर मात्रै पारित गर्न आह्वान गरेको छ।
समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी संक्रमणकालीन न्यायका विषयमा तीन दल एक ठाउँमा उभिनु सकारात्मक भएको जनाएको छ। तैपनि विधेयकमा केही गम्भीर त्रुटि रहेकाले सच्याउनुपर्नेमा जोड दिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर त्रुटिहरू सच्याएर मात्र विधेयक पारित गरी संक्रमणकालीन न्याय प्रक्रियाको दिगो र वैध टुंगो लाग्ने वातावरणको सिर्जना गर्न संघीय संसद्, सरकार, संसदीय दलहरूलाई निगरानी समिति आह्वान गर्दछ।’
समितिका संयोजक राजुप्रसाद चापागाईं, सहसंयोजकद्वय राजन कुइँकेल र रुकमनी महर्जन तथा सदस्यहरू चरण प्रसाईं, डा. गौरीशंकरलाल दास, डा. मन्दिरा शर्मा, प्रा. कपिल श्रेष्ठ, डा. गोपालकृष्ण सिवाकोटी, दिनेश त्रिपाठी, सुमन अधिकारी, देवी सुनुवार, बाबुराम गिरी, डा. वीरेन्द्र थपलिया, ओमप्रकाश अर्याल, जनकबहादुर राउत, इन्द्रप्रसाद अर्याल र महामुनीश्वरले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।