रास्वपाका नेताको पाँचदिने सार्वजनिक सवारी यात्रा अनुभव : राजधानीको ट्राफिक व्यवस्थापन फितलो रहेछ
पाँच दिने सार्वजनिक सवारी यात्रामा निस्केका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले संघीय राजधानीको ट्राफिक व्यवस्थापन फितलो भएको सुनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले साउन १९ गते ‘सार्वजनिक यातायातमा सर्वसाधारणले भोगिरहेका समस्या र सार्वजनिक यातायातको अवस्था’ बुझ्ने भन्दै पार्टीका पदाधिकारीलाई सार्वजनिक यातायातमा यात्रा गराउने निर्णय गरेपछि रास्वपाका पदाधिकारीले पाँच दिनसम्म सार्वजनिक सवारीसाधनमा यात्रा गरे। तिनले निजी सवारीसाधन पार्टी कार्यालयमा थन्क्याएर साउन २४ गतेसम्म सर्वसाधारणसँगै यात्रा गरेका हुन्।
रास्वपाको पाँचदिने ‘सार्वजनिक यात्रा’ पछि वेलाबखत उठ्ने गरेको बहस फेरि सामाजिक सञ्जालमा तात्यो, ‘नेता जनताको माझमा हिंडे पो त तिनका समस्या बुझ्न सक्छन्। नेता हुन् त रवि लामिछाने जस्ता!’
तर रास्वपाको यस निर्णयलाई सामाजिक सञ्जालमा वाहवाही गर्ने मात्र थिएनन्, तिनको निर्णयलाई ‘स्टन्टबाजी’ भन्नेहरू पनि निकै थिए। त्यसरी सामाजिक सञ्जालमा उडाइएपछि रास्वपाका सांसद शिशिर खनालले संसद्मा बोल्दै आफूहरूले सार्वजनिक यातायातमा गरेको यात्रालाई ‘स्टन्टबाजी’ गरेको भन्दै खिसी गरिएको अनुभव सुनाए। एमालेका नेता संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले त एक्समा सीधै रास्वपाका अध्यक्ष रवि लामिछानेलाई सम्बोधन गर्दै स्टेटस लेखे।
त्यसमा उनले भनेका छन्- ‘पूर्व उपप्रम तथा गृहमन्त्री रवि लामिछानेले बसमै यात्रा गर्नुहुँदो रहेछ। ३० वर्ष अगाडि चितवन-२ बाटै निर्वाचित पजेरो युगको संसद हुँ म। ४३ वर्ष भयो पूर्णकालीन राजनीतिमा लागेको। अहिले पनि दैनिक सार्वजनिक बसमै हिंडिरहेको हुन्छु। अब माननीयज्यूसँग कुनै दिन बसमै भेट होला।’
अधिकारी झैं सार्वजनिक यातायातमा हिंड्ने नेताहरू अरू नभएका होइनन। सार्वजनिक सवारीसाधन चढेर सबैभन्दा बढी मिडियामा छाउने नेता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुन् भने अर्का नेता नेकपा (एमाले)का लालबाबु पण्डित हुन्। त्यस्तै, एमाले उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य तथा युवराज ज्ञवाली पनि सार्वजनिक सवारीमै यात्रा गर्छन्।
२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट संघीय प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित सांसद तथा सो दलका स्थायी कमिटी सदस्य महेश्वर गहतराज पनि अहिलेसम्म आफू निरन्तर सार्वजनिक सवारीसाधनमा हिंडिरहेको बताउँछन्। सार्वजनिक यातायात रोज्नुपर्ने कारण दिंदै पूर्व खेलकूदमन्त्री गहतराज भन्छन्, “मन्त्री र सांसद भएँ, तर त्यहाँबाट आएको तलब र भत्ताबाट गाडी किन्ने हैसियतमा नपुगेकाले चढ्न सकिएन।”
सार्वजनिक यातायातमा हिंडिरहेका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य केशल खतिवडा र पूर्व मन्त्री हकिकुल्लाह खाँ पनि निजी सवारीसाधन जोड्न नसकेका कारण सार्वजनिक यातायातमै ओहोरदोहोर गरिरहेको सुनाउँछन्।
निजी गाडी किन्न नसकेका कारण सार्वजनिक यातायात प्रयोग गर्ने संघीय सांसदहरूको सूची लामो छ। रमा कोइराला, लिला बोखिम, जावेदा खातुन जागा, सीता मिजार, कल्पना मियाँ, शान्ति विक, आशा विक र पुष्पबहादुर शाही लगायत सांसदहरूसँग व्यक्तिगत सवारीसाधन नभएका कारण सार्वजनिक यातायातमा यात्रा गरिरहेको बताउँछन्। जेजस्तो कारणले नेताहरू सार्वजनिक साधनमा यात्रा गरे पनि तिनको साझा बुझाइ के हो भने, हाम्रो सार्वजनिक यातायातको अवस्था बिजोग छ। यी साधनको नियमन छैन। जे पाए त्यही रूपमा सञ्चालन भइरहेका छन्। सर्वसाधारणले सास्ती भोगिरहेका छन्।
पाँच दिन सार्वजनिक सवारी चढेका रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झा यात्राको क्रममा थुप्रै बेथिति अनुभव गरेको बताउँछन्। उनको भनाइमा उपत्यकामा सवारीसाधनको राम्ररी व्यवस्थापन गर्न नसकिएका कारण कामकाजी मान्छेको समय यात्रामै खेर गइरहेको देखिन्छ। झा भन्छन्, “यदि उपत्यकाको ट्राफिक व्यवस्थापन मात्र गर्न सकियो भने मान्छेको ३० देखि ३५ प्रतिशत समय बच्छ र त्यसलाई उत्पादनमुखी बनाउन सकिन्छ।” पाँच दिनको अनुभवलाई समेटेर संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिने झा बताउँछन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको २०७७ सालको तथ्यांक अनुसार नेपालभरि करीब चार लाख र उपत्यका सहित बागमती प्रदेशमा करीब ८० हजारको संख्यामा सार्वजनिक साधन गुडिरहेको महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ बताउँछन्। श्रेष्ठको भनाइ अनुसार अधिराज्यभर लगभग दुई लाख व्यक्तिले दैनिक सार्वजनिक यातायातको प्रयोग गर्दै आएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काका अनुसार नागढुंगा नाकाबाट दैनिक ३५ सय सवारीसाधनबाट २९ हजार जना भित्रिने र करीब ३४ सय सवारीसाधनबाट ३० हजार जना बाहिरिने गरेका छन्। यसका साथै भक्तपुर नाकाबाट दैनिक ६६ सय सवारीसाधनको प्रयोग गर्दै २९ हजार यात्रु भित्रिने र करीब ५७ सय सवारीसाधनको प्रयोग गर्दै २५ हजार यात्रु बाहिरिने गरेको तथ्यांक छ।
सार्वजनिक यातायातमा यात्रा गर्ने गहतराजको अनुभवमा सार्वजनिक यातायातको यात्रा निकै पीडादायी हुने गरेको छ। बसका सहचालकले यात्रीलाई भेडाबाख्रा जस्तै ओसार्ने र अभद्र व्यवहार गर्ने गरेको उनको अनुभव छ। उनी भन्छन्, “सार्वजनिक यातायातको गहिरो अध्ययन हुनुपर्छ।”
पूर्व मन्त्री खाँको सुझाव पनि त्यस्तै छ। उनको भनाइमा सार्वजनिक यातायातमा ट्राफिक प्रहरीको अनुगमनको कमी हुनुका साथै सहचालकले गर्ने व्यवहारमा सुधार ल्याउन आवश्यक छ। उनी भन्छन्, “कम दूरीको सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बसाल्ने परम्परा अन्त्य हुनुपर्छ।”