बादलभित्र प्रवेश गरेका कारण डाइनेस्टीको हेलिकोप्टर दुर्घटना : प्राधिकरण
एअर डाइनेस्टीको हेलिकोप्टर उड्डयन सम्बन्धी नियम पालना नगरी बादलभित्र प्रवेश गरेका कारण दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्रारम्भिक अध्ययनमा हेलिकोप्टरले ‘भिजुअल फ्लाइट रुल’ अनुसार नचल्दा दुर्घटना भएको देखिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन्। बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै महानिर्देशक अधिकारीले हेलिकोप्टर बादलभित्र प्रवेश गरेकाले नै दुर्घटना भएको दाबी गरे।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १:५४ मा रसुवाका लागि उडेको एअर डाइनेस्टीको ‘९एन-एजेडी’ हेलिकोप्टर केही बेरमै नुवाकोटको सुइरेचौरमा दुर्घटना भएको थियो। दुर्घटनामा हेलिकोप्टरमा सवार पाँचै जनाको ज्यान गएको थियो।
यसबारे संसदीय समितिलाई जानकारी दिंदै प्राधिकरणका महानिर्देशक अधिकारीले भने, “सरसर्ती हेर्दाखेरि खराब मौसममा बादलभित्र प्रवेश गरेको कारण फर्कने क्रममा बायाँतिर मोड्ने वेला ठोक्किएको देखिन्छ।”
नेपालको उड्डयन सम्बन्धी कानूनमा बादलभित्र प्रवेश गर्न नहुने र आँखाले देख्न नसकेमा प्रवेश गर्न नहुने व्यवस्था गरिएको उनले बताए। “हाम्रो नागरिक उड्डयनको ‘भिजुअल फ्लाइट रुल (भीएफआर)’ अनुसार नगएर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो। यो कानूनले वर्जित गरेको विषय हो। भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ।”
हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ।