बडिगाड पहिरोमा परेका तीन बालबालिकाको अवस्था अज्ञात
बाग्लुङको बडिगाड गाउँपालिका-१०, आरुपाटामा पहिरोमा परेका तीन जना बालबालिका तीन दिनसम्म पनि भेटिएका छैनन्।
साउन २२ गते बिहान आएको पहिरोमा परेर सात वर्षीया मधु विक, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा हराइरहेका छन्। तीन दिनदेखि स्थानीय बासिन्दासँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खोजबिनमा लागेको भए पनि भेटिएका छैनन्।
पहिरोमा पुरिएर ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीय अमल बुढा, ६ महीनाकी सीता विक र ७० वर्षीया मैतीदेवी विकको ज्यान गएको थियो। हराइरहेका तीन बालबालिकाको अवस्था बिहीबार बिहानसम्म अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन्।
पहिरोमा परी १० जना घाइते भएका थिए। उनीहरूमध्ये गम्भीर घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढालाई काठमाडौं लगिएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।