मनसुनयता बाढीपहिरोमा परी १६७ जनाको मृत्यु
मनसुन भित्रिएयता अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी देशका विभिन्न स्थानमा १६७ जनाको मृत्यु भएको छ।
बाढीपहिरो लगायत विपद्मा परी काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना र मधेश प्रदेशमा ६ जनाको ज्यान गएको छ। त्यस्तै, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
विपद्मा परी १९९ जना घाइते भएका छन्। जसमध्ये काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना रहेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए।
यसैगरी, यो अवधिमा काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनाको उद्धार गरिएको छ।
देशभर बाढीपहिरोमा परी ५० जना हराइरहेका छन्। कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना हराइरहेको प्रहरीले जनाएको छ।
मनसुन अवधिमा बाढीका कारण ३८४ घर डुबानमा परेका छन्। त्यस्तै, २६८ वटा घर, १०० वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।