चार वटा प्रदेशमा अत्यधिक वर्षा हुने आकलन
आज देशका चार वटा प्रदेशमा अत्यधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ।
देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएकाले देशका विभिन्न स्थानमा बदली र वर्षा हुने विभागको भनाइ छ। कोशी, मधेश र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छ।
देशका अन्य भागमा अहिले आंशिकदेखि साधारण बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अत्यधिक वर्षा हुने विभागको पूर्वानुमान छ।
त्यसैगरी, आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अत्यधिक वर्षाको सम्भावना छ। त्यसैले चारै प्रदेशमा सतर्क रहन विभागले आग्रह गरेको छ।