सेना विरुद्धको जाहेरी दर्ता नगरेपछि प्रहरीसँग उच्च अदालतले माग्यो जवाफ
द्वन्द्वकालको निहुँमा नेपाली सेनाले पक्राउ गरेर यातना दिंदा ज्यान गएको घटनाको जाहेरी लिन प्रहरीले नमानेपछि परेको रिटमा उच्च अदालत, सुर्खेतले कारण देखाउ आदेश दिएको छ।
सुर्खेतका पूर्णप्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा सेनाको कुटाइबाट आफ्ना दुई छोराको ज्यान गएको भन्दै हत्या सम्बन्धी जाहेरी दिएका थिए। त्यस्तै, पूर्णप्रसादकी पत्नी खगीसराले आफूलाई सेनाले पक्राउपछि बलात्कार गरेको भन्दै शरीर बन्धक तथा जबर्जस्ती करणी सम्बन्धी जाहेरी दिएकी थिइन्। यी दुवै जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि उनीहरूले अदालत गुहारेका हुन्।
यातायात व्यवसायी रहेका पूर्णप्रसादलाई २०५८ सालमा सेनाले माओवादीको आरोपमा पक्राउ गरेर चरम यातना दिएको थियो। त्यसको डेढ वर्षपछि मात्रै सेनाले उनलाई छोडेको थियो।
नेपालगन्जमा पूर्णप्रसादलाई पक्राउ गरेपछि सेनाले उनको सुर्खेतस्थित घरमा पत्नी खगीसरा र दुई छोरालाई पनि पक्राउ गरेर यातना दिएको थियो। सेनाले खगीसरालाई सन्तानकै अगाडि बलात्कार गरेको आरोप छ भने दुवै छोरालाई कुटपिट गर्दा एक जनाको मानसिक सन्तुलन गुमेर मृत्यु भएको थियो।
यही घटनाको अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन पूर्णप्रसादले जाहेरी दिएका हुन्। तर प्रहरीले माथिको आदेश भन्दै दर्ता गर्न नमानेको रिटमा उल्लेख छ।
२०८० माघ १४ गते जाहेरी दर्ता गर्न जाँदा प्रहरीले लिन नमानेपछि हुलाकबाट जाहेरी पठाइएको थियो। हुलाकबाट पठाइएको जाहेरीको मिति नमिलेको भन्दै सच्याएर ल्याउन भनेको थियो। सच्याएर लग्दा पनि प्रहरीले दर्ता गर्न मानेन।
त्यसपछि सरकारी वकीलको कार्यालयमा निवेदन दिएका थिए। सरकारी वकीलको कार्यालयले जाहेरी दर्ता गर्न निर्देशन दिंदा पनि प्रहरीले अटेरी गरेपछि बाध्य भएर न्याय खोज्न अदालत आउनुपरेको पूर्णप्रसादको रिट निवेदनमा उल्लेख छ। उनको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले साउन १२ मा कारण देखाउ आदेश दिएको हो।
कैलालीको चिसापानीमा अवस्थित ब्यारेकका सैनिक अधिकारीहरूले यस्तो अमानवीय घटना घटाएका हुन्। त्यति खेर तत्कालीन प्रमुख सेनानी अजित थापा, सहसेनानी रमेश स्वाँर थिए।
यो पनि पढ्नुहोस् : सशस्त्र द्वन्द्वले तहसनहस एउटा निर्दोष परिवार