दुई सातामै दोस्रो हवाई दुर्घटना, कुल २३ जनाको मृत्यु
दुई सातामै दुई वटा हवाई दुर्घटना हुँदा २३ जनाले ज्यान गुमाएका छन्।
काठमाडौंबाट रसुवाका लागि उडेको एअर डाइनेस्टीको ‘९एन-एजेडी’ हेलिकोप्टर बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित सुइरेचौरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १:५४ मा उडेको हेलिकोप्टको तीन मिनेटमै काठमाडौंको टावरसँग सम्पर्क टुटेको थियो।
केहीबेरमै सुइरेचौरमा दुर्घटना हुँदा क्याप्टेन अरुण मल्ल सहित चिनियाँ नागरिक जुदाड टाङ, जिई ली, यियाद वु र जेमिङ सीको ज्यान गएको छ। उनीहरूको दुर्घटनास्थलमै मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।
दुई साताअघि साउन ९ मा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको बम्बार्डियर ‘सीआरजे-२००’ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेकअफ’ गर्ने बित्तिकै दुर्घटना भएको थियो। विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो।
दुर्घटनामा चालक मनीष शाक्य घाइते भएका थिए। तत्कालै उद्धार गरिएका शाक्य उपचारपछि घर फर्किसकेका छन्।
सौर्य एअरलाइन्सको ‘९एन-एएमई’ कल साइनको विमान बिहान ११:११ मा उडेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो। उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर रहेको स्थानमा खसेको थियो।
दुर्घटनामा एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश महर्जन, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही र अरिफ रेडको ज्यान गएको थियो।
नियमित परीक्षणका लागि पोखरा जाँदै गरेको विमानमा सौर्य एअरलाइन्सकै कर्मचारी र उनीहरूका परिवारजन सवार थिए। मृत्यु भएका १७ जना नेपाली थिए भने एक जना यमनका नागरिक थिए।
यो पनि पढ्नुहोस् :