उडेको तीन मिनेटमै टावरसँग हेलिकोप्टरको सम्पर्कविच्छेद
सुइरेचौरमा दुर्घटना भएको एअर डाइनेस्टीको हेलिकोप्टर उडेको तीन मिनेटमै काठमाडौंको टावरसँग सम्पर्कविच्छेद भएको जनाइएको छ।
चार जना चिनियाँ पर्यटक बोकेर एअर डाइनेस्टीको ‘९एन–एजेडी’ हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो। बुधबार अपराह्न १:५४ मा उडेको हेलिकोप्टरको १:५७ मा काठमाडौंको टावरसँग सम्पर्क टुटेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर उडेको तीन मिनेटमै काठमाडौंको टावरसँग सम्पर्कविच्छेद भएको जनाएको छ। त्यसको केही बेरमै नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सुइरेचौरमा दुर्घटना भएको केन्द्रले उल्लेख गरेको छ।
एअर डाइनेस्टीको हेलिकोप्टरमा चिनियाँ नागरिक जुदाड टाङ, जिई ली, यियाद वु र जेमिङ सी सवार थिए। क्याप्टेन अरुण मल्लले हेलिकोप्टर उडाएका थिए।
हेलिकोप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ। दुर्घटनास्थल पुगेको प्रहरी टोलीले पाँच जनाको शव भेटाएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले बताए।