एअर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटमा दुर्घटना
काठमाडौंबाट रसुवाका लागि उडेको एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ।
नुवाकोटको शिवपुरी-७ स्थित सुइरेचौरको डाँडामा हेलिकोप्टर ठोक्किएको जिल्ला प्रशासन कार्यालय, नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले बताए। “सुइरेचौरमा हेलिकोप्टरमा आगो लागेको खबर आएको छ,” हुमागाईंले हिमालखबरसँग भने, “सुरक्षाकर्मी पठाएका छौं, थप बुझ्दै छौं।”
एअर डाइनेस्टीको ‘९एन–एजेडी’ हेलिकोप्टर बुधबार दिउँसो १:१४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। रसुवाका लागि उडेको हेलिकोप्टर नुवाकोटको सुइरेचौर डाँडामा दुर्घटना भएको हो।
हेलिकोप्टरमा चार जना विदेशी यात्रु सवार थिए। उनीहरूलाई स्याफ्रुबेंसी पुर्याएर फर्किने तालिका रहेको थियो।
हेलिकोप्टर दुर्घटना भएको खबर आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए। दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको र दुर्घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेको उनले बताए।