अनलाइन मार्फत ठगी गरेको आरोपमा नौ भारतीय पक्राउ
मकवानपुरको हेटौंडाबाट अनलाइन मार्फत ठगी गरेको आरोपमा नौ जना भारतीय नागरिक पक्राउ परेका छन्।
हेटौंडा-४ स्थित पारिजात पथमा स्थानीयको घर भाडामा लिएर उनीहरूले अनलाइन मार्फत ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए। मेडी असिस्ट नामको कम्पनी मार्फत अनलाइन ठगी भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको रिजालको भनाइ छ।
पक्राउ पर्नेमा भारतको पटना थाना आलमगन्जका २८ वर्षीय नवनीत कुमार, झारखण्डका २७ वर्षीय शाहरूख खान, बिहारका २९ वर्षीय कुन्दन कुमार, नैनीतालका २६ वर्षीय आशिष कब्डौला, राँचीका ३४ वर्षीय विशाल कक्कड, राँचीका ३८ वर्षीय लोकेश कुमार दुवे, राँचीकै २९ वर्षीय विकास कुमार सिंह, दिल्लीका २८ वर्षीय अरुणकुमार र गाजियावादका ४० वर्षीय कुनाल शर्मा छन्।
उनीहरूबाट विभिन्न कम्पनीका सात वटा ल्यापटप, तीन वटा राउटर, १३ वटा मोबाइल लगायत सामग्री बरामद गरिएको छ।
२०८० फागुन १० मा भारतको नयाँ दिल्लीका द्रविनकुमार सिंहको नाममा मेडी असिस्ट कम्पनी दर्ता गरिएको पाइएको एसपी रिजालले बताए। यस कम्पनीले परामर्श सेवा प्रदान गर्दै आएको थियो। उनका अनुसार अनुसन्धानका क्रममा कम्पनीले कुनै पनि आर्थिक कारोबार कानून बमोजिम गरेको पाइएको छैन भने अभिलेखीकरण गरेको पनि भेटिएको छैन।
उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको अनुमति लिइएको छ।