नारायणगोपालको आँसुले लेखिएको डायरी
मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठीकै छु बिथोल्न नआऊ।
नारायणगोपाल भन्नासाथ संगीतपारखीको दिमागमा प्रणय, वियोग र वैराग्यका भाका गुन्जन थालिहाल्छ। उनले स्वर भरेका विरही गीतहरूमा आफ्नो भावना गाँसेर तपाईं पनि कल्पनालोकको शयर गर्नु भएकै होला! स्वरसम्राट्को वेदनाले भरिएका गीत सुनिरहँदा हामी सोच्छौं, पक्कै उनको जीवनमा पनि यस्तै पीडा र व्यथा होलान् है!
त्यो साँचो रहेछ। नारायणगोपालको जीवनकाल साँच्चिकै वेदनाले ग्रस्त रहेछ।
हालै भेटिएको नारायणगोपालको डायरीले एक समय उनीभित्र अभाव, बेवास्ता र तिरस्कारले दिएको गहिरो घाउ रहेको बताउँछ। डायरीमा जागीरको खोजीमा भौंतारिएकोदेखि स्वाभिमानी शिर कसैसामु झुक्न नसकेकोसम्मको बयान छ। सांगीतिक यात्राको एउटा कालखण्डमा चरम आर्थिक अभावले उनलाई डिप्रेशनमा समेत पुर्याएको देखिन्छ।
नारायणगोपालको जीवनका अँध्यारा पाना पल्टाउँदा उनी उपेक्षा, असहयोग र अपमानको ज्वालामा खारिएर ‘स्वरसम्राट्’ बनेका रहेछन् भन्ने बुझिन्छ। डायरीमा उनको जीवन भोगाइ कतिसम्म कष्टप्रद रहेको देखाउँछ भने ‘आफ्नो जीवन व्यर्थ भएको र आफूलाई बाँच्न मन नभएको’ सम्म लेखेका छन्। २०२० सालतिर चरम निराशामा पुगेको वेला नारायणगोपालले लेखेको डायरीको शुरूआत नै निराशापूर्ण छ। २०२६ साल वैशाख १ गते आइतबार उनले लेखेका छन्-
‘नयाँ वर्ष भएर के हुन्छ र? मान्छे त जम्मै उही हो। जे होस् नयाँ वर्षको शुभकामना!’
अद्भुत गीतसंगीतका सिर्जनाकार स्वरसम्राट् आर्थिक अभावमा परेपछि जागीर खोज्न दैलो दैलो भौंतारिन्छन्।
तर चाकडीको ‘च’ नगर्ने स्वाभिमानी गायकलाई कसैले नोकरीमा राख्न चाहँदैनन्। त्यसबाट आहत स्वरसम्राट्को भित्रैदेखि दिमाग हल्लाउने उद्गार निस्कन्छ। उनी डायरीमा लेख्छन्-
‘ढुंगा खान्छु, तर चाकडी गर्दिनँ।’
नारायणगोपाल २०२४ सालमा भारतको बरोडामा शास्त्रीय संगीत पढेर फर्केका थिए। तर फर्किएको लामो समयसम्म बेरोजगार रहे। शास्त्रीय संगीतको अनुभवपछि उनले पाश्चात्य संगीतको पनि गहिरो अध्ययन गरेको उनकी पत्नी पेमला गुरुवाचार्यले संस्मरणमा लेखेकी छन्।
तर नारायणगोपालले २०१६ सालदेखि नै गाउन शुरू गरेका हुन्। बागीना पत्रिकाको नारायणगोपाल स्मृति अंकमा संगीतकार एवम् लेखक बुलु मुकारुङले लेखे अनुसार २०१६ देखि २०२५ सालसम्म उनका ३२ वटा गीत रेडियो नेपालबाट प्रसारण भइसकेका थिए। तीमध्ये केही गीत हिट पनि भएका थिए। तर उनी रेडियो नेपालका ‘जागीरे कलाकार’ थिएनन्। प्रतिगीत पाँचदेखि १० रुपैयाँ मात्र पाउँथे। त्यसैले चर्चित गायक भए पनि नारायणगोपालले आर्थिक अभाव भोग्नुपरेको थियो।
अहिले जस्तो एउटा गीत हिट हुनासाथ देश-विदेशमा मेला, महोत्सव र कन्सर्टमा गाउन पाउने र पैसा कमाउने अवस्था थिएन। गीतसंगीतमा लागेर गुजारा नचलेपछि गीत गाउनु नै बेकार रहेको सोचमा नारायणगोपाल पुगेको देखिन्छ। जागीर नखाँदा उनले परिवारबाटै हेपाइ खेप्नुपरेको रहेछ। डायरीमा उनी लेख्छन्-
‘आमाबाबु दुवै मिलेर खुब गाली गर्यो। यत्रो भएर पनि जागीर खान नसक्नु लाजको कुरो हो। साँच्चै म लज्जित छु। कसलाई भनूँ म आफ्नो व्यथा? कल्ले बुझिदेला मेरो ‘म’ लाई? घरबार सब छाडेर हिंड्न मन लाग्छ पहाडतिर। गीत गाउनु पनि बेकार जस्तो लागेर आउँछ। हामीलाई समाजका ठेकेदारहरूले शोषण गरेका छन्। हामी असहाय छौं।’
नारायणगोपालले जागीर नपाएकै कारण निराश भएको डायरीका धेरै ठाउँमा लेखेका छन्। आफ्नो आर्थिक अभावलाई उनले ‘सत्य र इमानदारीको नतीजा’ भनेका छन्। अभावमा जिउनुपर्दा उनी ईश्वर पुकार्ने अवस्थासम्म पुगेको देखिन्छ। वेदनामिश्रित यी भावना पढ्दा लाग्छ, उनले यी कुरा आँसुकै मसीले लेखेका हुन्।
आर्थिक संकटबारे उनले एक ठाउँमा लेखेका छन्-
‘जुत्ता पनि स्वर्गीय हुन लागेछ। दुई जोर लुगा पनि फाट्न लागिसके। बिंडी खानलाई पनि पैसा छैन। हे ईश्वर! सत्य र इमानदारीको नतीजा यस्तै हुँदो रहेछ भने, मलाई छिटै लैजाऊ तिम्रो घरमा। मेरो घर, समाज, साथीहरू सबै सबैको अपमानको पात्र बनेको छु म। आज म गरीब भएर मामूली मान्छेले पनि जोरी खोज्ने गर्छ। भाइबहिनीले त हेला गर्छ मलाई। म के गरूँ?’
संगीतकर्मीका रूपमा रेडियो नेपाल र संस्कृति विभागले काम नदिएकोमा निरुपाय बनेका उनले अरू जुनसुकै काम गर्न पनि तयार रहेको लेखेका छन्। कृषि विकास ब्यांकमा कार्यालय प्रबन्धक पदको जागीर खुलेपछि त्यसका लागि परीक्षा दिने निधो गरे। परीक्षा दिन रत्नराज्यलक्ष्मी कन्या महाविद्यालयमा पुगे। परीक्षा हलमा १०० भन्दा बढी परीक्षार्थी रहेको र आफूलाई देख्नासाथ सबैले आपसमा खासखुस गरेको भन्दै उनी डायरीमा लेख्छन्–
‘सबैले मलाई नै हेरेर खासखुस कुरा गरेको सुन्छु। म लज्जित हुन्छु र परीक्षामा नबसीकनै फर्कन्छु।’
संगीत क्षेत्र बाहिरको काम गर्दा संगीत छोड्नुपर्ने पीरले उनलाई सताएको देखिन्छ। लेखेका छन्-
‘लुगाफाटासम्म राम्ररी लाउन सकेको छैन। यहाँसम्म कि चुरोट वा चिया पिउनको लागि समेत मसँग पैसा हुँदैन। पैसा विना मान्छेलाई बाँच्न कस्तो गाह्रो पर्दो रहेछ। काम त केही न केही गर्नुपर्ने हो बाँच्नको लागि, तर के काम गर्नु? मेरो काम त गाउनु वा संगीत बनाउनु हो। त्यस्तो कामको लागि वर्षौं कोशिश गर्दा पनि पाएन। रेडियो र संस्कृति विभागले मलाई कुन्नि किन ईर्ष्या गर्छ र त्यहाँ मैले काम पाउँदिनँ। अरू कामको लागि पनि म तयार छु। हालाकी संगीत छोड्नुपर्छ, तर कसलाई भन्ने कसरी भन्ने? म बी.ए. भएर के भो?’
डायरीका अन्तिम पृष्ठसम्म पनि उनले अभावकै चर्चा गरेका छन्। पैसाको फिटफिटी परेपछि मीत गोपाल योञ्जनसँग उनले धेरै पटक सापटी मागेका रहेछन्। उनले डायरीमा हिसाब राखेका छन्-
‘यसअघि पनि पचास रु. लिएको थिएँ मीतज्यूसँग। आज फेरि २०० रु. लिएको छु सूट बनाउनको लागि। जम्मा २५० रुपैयाँ दिनुपर्नेछ उनलाई मैले।’
स्वाभिमानका धरोहर गायक कसैका अगाडि हात फैलाउँदैनथे। शिर निहुराउँदैनथे। राज्यसँग चाकडी गर्न लाइन लाग्दैनथे। त्यसैले उनलाई घमण्डी भनिन्थ्यो। असहयोग गरिन्थ्यो। उनका डायरीमा असीमित आक्रोशसँगै घनघोर निराशाका मसी पोखिएका छन्। जीवनप्रति चरम निराशा प्रकट गरेका छन्। आफू घरको बोझ बनेको भन्दै बाँच्ने चाहना नै नभएको भन्दै लेखेका छन्-
‘आजभोलि म कहीं जान्नँ। बिहानभरि घरमै अनि खाना अनि सोना अनि जागना अनि बाहर जाना। ... ... ... बस... यही दोहोरिन्छ... मेरो जीवन एक रुखोपना। मेरो जीवन व्यर्थ जस्तो लाग्छ। म कल्पनामा उड्छु आफू कोठमा बसेर। झ्यालबाट नागार्जुनको डाँडा हेर्दै म रंगीबिरंगी स्वप्रदेशमा पुग्छु। वास्तविकता जब मेरो छेउ आउँछ, म आकाशबाट खस्छु तल.....एकदम। म रुन्छु एक्लै....सान्त्वना पाउँछु एकछिन, अनि उही झन् दोहोरिन्छ। म एक बोझ घरको। हे ईश्वर म बाँच्न चाहन्नँ।’
यो पनि पढ्नुहोस् : नारायणगोपालको हालै भेटिएको डायरी : ढुंगा खान्छु, तर चाकडी गर्दिनँ