बडिगाड पहिरो : घाइतेलाई दुई दिनसम्म अस्पताल लग्न सकिएन
बाग्लुङको बडिगाड गाउँपालिका वडा नं ९ र १० मा गएको पहिरोमा परी घाइते भएका स्थानीय बासिन्दालाई दुई दिनसम्म अस्पताल लग्न सकिएको छैन।
अविरल वर्षासँगै आएको पहिरोमा परी मंगलबार आठ जनाको मृत्यु भएको थियो। त्यस्तै, पहिरोमा पुरिएका चार जना हराइरहेका छन्।
पहिरोले घर बगाउँदा १० जना घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
निरन्तरको वर्षा, ठाउँ ठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन सकिएको छैन। घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले बताए।
बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमै प्राथमिक उपचार गरेका छन्। उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टर पनि प्रतिकूल मौसमका कारण फर्किएको बरालले बताए।
पहिरोमा हराइरहेका चार जनाको खोजी भइरहेको छ। स्थानीय बासिन्दासँगै सुरक्षाकर्मी खोजबिनमा जुटेका छन्।