काठमाडौंमा परेको पानी कति ठूलो हो?
बितेका २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १० देखि १३१.४ मिलिमिटरसम्म वर्षा भएको छ। अर्थात् ठाउँ अनुसार वर्षाको मात्रामा ठूलो भिन्नता छ।
सोमबार रातिदेखि परेको झरीले काठमाडौं उपत्यकालाई मंगलबार बिहानैदेखि जलमग्न बनायो। निरन्तरको वर्षापछि काठमाडौंका कैयौं क्षेत्र र सडकखण्ड पानीले भरिए। आवागमन प्रभावित भयो। बागमती र विष्णुमती लगायत नदीहरू उर्लिए।
रातिदेखि बिहानसम्म परेको पानीले जलमग्न बनाएपछि प्रश्नहरू उब्जिए, योभन्दा ठूलो पानी परे के होला?
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो रातिदेखि बिहानसम्म काठमाडौं उपत्यकामा परेको पानी अभूतपूर्व होइन। यसअघि योभन्दा ठूलो पानी परिसकेको विभागका मौसमविद् सुदर्शन हुमागाईंले बताए। उनले भने, “काठमाडौंमा २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटरसम्म वर्षा निकै पटक भइसकेको छ, त्यसैले यो अनौठो होइन।”
विभागको तथ्यांक अनुसार बितेका २४ घण्टा (सोमबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १० देखि १३१.४ मिलिमिटरसम्म वर्षा भएको छ। अर्थात् ठाउँ अनुसार वर्षाको मात्रामा ठूलो भिन्नता छ।
बितेको २४ घण्टामा सबैभन्दा धेरै पानी गोदावरीमा पर्यो। गोदावरीस्थित मौसम स्टेशनले बितेको २४ घण्टामा १३१.४ मिलिमिटर पानी परेको देखाएको छ। विभागले २४ घण्टाको अवधिमा १०० मिलिमिटर वा सोभन्दा बढी तथा २०० मिलिमिटरभन्दा कम वर्षा हुने स्थितिलाई धेरै भारी वर्षा भएको मान्छ।
त्यसैगरी, कपनमा १२१.४ मिलिमिटर, कीर्तिपुरमा १०६.४ मिलिमिटर पानी २४ घण्टाको अवधिमा परेको छ। यी सबै धेरै भारी वर्षाको श्रेणीमा पर्छन्।
ललितपुरका लेले, खुमलटार, टीकाथली, काठमाडौंका बूढानीलकण्ठ, सुन्दरीजल, धाप बाँध, नैकाप तथा भक्तपुरका नगरकोट, ताथलीमा १०० मिलिमिटरभन्दा तलै पानी परेको छ। विभागले यसलाई भारी वर्षाको श्रेणीमा राखेको छ। सबैभन्दा कम पानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० मिलिमिटर मात्रै रेकर्ड भयो। यो मध्यमस्तरको वर्षा हो।
बितेको २४ घण्टामा भारी र धेरै भारी वर्षा भए पनि काठमाडौं उपत्यकाले यसभन्दा अघि योभन्दा ठूलो झरी देखिसकेको छ। विभागका अनुसार काठमाडौंमा अहिलेसम्मको सर्वाधिक वर्षा २०५९ साउन ७ गते भएको थियो। उक्त दिनको २४ घण्टामा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७७ मिलिमिटर पानी परेको थियो। २०७२ सालमा पनि ११५.५ मिलिमिटर वर्षा रेकर्ड भएको थियो।
यद्यपि आज भएको वर्षा पनि ख्यालख्यालको होइन। बितेका ६ दशकमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नौ पटक मात्रै १०० मिलिमिटरभन्दा बढी पानी परेको रेकर्ड गरिएको छ। यो आधारमा हेर्दा गोदावरी, कपन र कीर्तिपुरमा हिजोदेखि परेको पानी ठूलै हो। अझ त्रिभुवन विमानस्थलस्थित मौसम स्टेशनसँगको तथ्यांकसँग तुलना गर्दा त गोदावरीमा परेको पानी अहिलेसम्मकै दोस्रो ठूलो हो।
अगस्ट महीनाको औसतलाई आधार मान्ने हो भने पनि हिजोदेखिको झरी ठूलै हो। अगस्टमा काठमाडौंमा सरदरमा ३४२.७ मिलिमिटर पानी पर्छ। गोदावरी तथा कपनमा २४ घण्टामा परेको पानी महीनाभरिको औसतका तुलनामा एकतिहाइभन्दा पनि धेरै हो। काठमाडौंमा सरदरमा वार्षिक १ हजार ५०२.५ मिलिमिटर पानी पर्छ।
यसले एउटा गम्भीर प्रश्न भने छोड्छ- यदि ‘क्लाउड ब्रस्ट’ हुने गरी कञ्चनपुरमा भएको वर्षा सरह काठमाडौंमा पानी परे के होला? गत असार २३ गते राति कञ्चनपुरको हनुमाननगरमा एक घण्टाको अवधिमा १०२ मिलिमिटर वर्षा भएको थियो। असार २३ र २४ गते २४ घण्टाको अवधिमा कञ्चनपुरको दोधारामा ६२४ मिलिमिटर, हनुमाननगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५५ मिलिमिटर वर्षा मापन भएको थियो। विभागले यो वर्षालाई ‘क्लाउड ब्रस्ट’ भएको उल्लेख गरेको छ।
विभागका मौसमविद् हुमागाईं काठमाडौंमा यो स्तरको वर्षा भए स्थिति भयावह नै हुने बताउँछन्। “काठमाडौंको अहिलेसम्मको वर्षा २४ घण्टामा २०० मिलिमिटर पनि नाघेको छैन, साँच्चिकै क्लाउड ब्रस्ट भयो भने त स्थिति भयावह नै हुन्छ,” उनले भने।