राम्रो काम गर्ने राम्रा मान्छे
जीवनका अनुभव र अनुभूतिलाई अक्षरमा ढाल्न र बोली मार्फत फाल्न सिपालु भएकाले नै भैरव रिसाल दाइ धेरैको मनमा बसेका छन्।
भैरव दाइसँगको मेरो पहिलो भेट र चिनारी पाल्पाको झडेवामा भयो। म झडेवाको किसान माविमा शिक्षण गर्थें। २०४१ सालमा डा. देवेन्द्रराज पाण्डेको सक्रियतामा झडेवामा एकीकृत विकास प्रणाली (आईडीएस) नामक संस्थाको तर्फबाट एउटा कार्यक्रम भर्खर सञ्चालन भएको थियो। यसले यहाँका गरीब बस्तीहरूमा आयआर्जनका कार्यहरू प्रारम्भ गर्यो। यसै सिलसिलामा २०४२ सालमा भैरव दाइ पनि झडेवा आइपुगे।
उनी त्यति वेला राष्ट्रिय आलु विकास कार्यक्रम (एनपीडीपी)मा पनि काम गर्थे। धेरै आलु फलाउने प्रविधि थाहा थियो उनलाई। गरीबहरूलाई उत्पादनमूलक कार्यक्रमसँग जोड्ने आईडीएसको योजनाबारे भैरव दाइलाई पनि जानकारी भयो। दाइले झडेवाको अत्यन्त गरीबहरूको बस्ती– बगालेका किसानको बारीको माटो परीक्षण र सम्भाव्यता अध्ययनपछि आलु रोप्न र त्यसबाट मनग्ये आम्दानी लिने काइदा आफैं बसेर सिकाउन थाले।
राम्रो कामको योजनाबद्ध थालनी भयो। सबैलाई मन पर्यो। तीज र तिहारमा तानसेनबाट आलु किनेर ल्याई मुख फेर्ने बगालेले छोटो समयमा नै आफैं आलु बेचेर पैसा कमाउन थाले। बारीमा फलफूल र तरकारी रोप्न र फलाउन पनि दाइले नै सबैलाई प्रेरित गरे। बगालेका तरकारी र फलफूलले कृषि मेला र प्रदर्शनीहरूमा पनि स्थान पाउन थाले। ‘गरे के हुन्न र?’ भन्ने प्रत्यक्ष पाठ सबैले सिके। गरीब र निमुखाहरूको मुख हँसाउन भैरव दाइले गरेको त्याग र तपस्याले नै उनलाई चिन्न बाध्य पार्छ। मैले पनि यही काम मार्फतै उनलाई चिनेको हुँ।
आहा कति सक्रिय हुन् भैरव दाइ! हँसिला, रसिला, जोशिला, रसिक उस्तै, मीठा त्यस्तै, रिसाउन नजान्ने!! सबैका विश्वासिला, सकारात्मक सोचका पक्षपाती, बोलीपिच्छे एउटा न एउटा सन्देश छर्दै हिंड्ने, सके सबैको भलो गर्ने नसके कुभलो कसैको नचिताउने!!! जनतालाई देवता मान्ने, राम्रो स्मरणशक्ति भएका, दह्रो कलमकार, मान्छे हुन् त यस्ता!!!! उनले राजनीति गरे पनि कमाउनीति गरेनन्। आफ्नो पसिना र विवेकको प्रयोगले जति शुद्ध कमाइ आयो त्यसैमा सन्तुष्ट रहे। बांगो बाटोबाट आर्जन गर्ने कुरा सपनामा पनि देखेनन्। कति सफल छ भैरव दाइको जीवन! कतै कालो नलागेको जीवन!! कसैले कतै दाग लगाउन नसक्ने फट्टिक सफा जीवन!!! उनलाई थाहा छ- अन्त लागेको दाग पुछिन्छ, तर अनुहारमा लागेको दाग जति पुछे पनि पुछिन्न भन्ने कुरा। यसैले त सफा अनुहारमा बाँचेका छन् भैरव दाइ।
असल चरित्रका परिचायक
भनिन्छ, ‘सर्व मूलम् चरित्रम्’। सबैभन्दा मुख्य कुरा चरित्र हो। खराब चरित्रले खराबै कुरा खोज्छ। एउटा जँड्याहा दूध डेरीमा गए पनि पहिला रक्सी नै सोध्छ। असल चरित्र रक्सी भट्टीमा नै गए पनि पहिला उसले दूध नै सोध्छ। यही दूध सोध्ने चरित्र हुन् भैरव दाइ। उनी सधैं अहम्को हैन वयम्को भावनामा रमाउँछन्। खोजी उनको धर्म हो, परिवर्तन चाहना र गतिशीलता क्षमता हो। आफ्नो बाटो आफैं हिंड्नुपर्छ अरूले हिंडिदिएर हुँदैन। राम्रो काम गर्न ठूलो मान्छे हुनु पर्दैन, तर ठूलो मान्छे हुन राम्रो काम गर्नुपर्छ भन्ने मूल्यमान्यताका ज्वलन्त उदाहरण हुन् भैरव दाइ।
समाजसेवा
उनले आफ्नो जवानी र जीवनी समाजसेवामा नै खर्चिंदै आएका छन्। समाज भनेको सामाजिक सम्बन्धहरूको जालो हो। मानवविहीन समाज र समाजविहीन मानवको उनी कहिल्यै कल्पना गर्दैनन्। तसर्थ मानव हितलाई शिरमा राखेर आफ्ना सबै कार्यहरू सञ्चालन गर्दै आएका छन्। उनी सर्वजन हितायको पक्षमा छन्। आफ्नो चुलोमा भात पाकेन भनेर छिमेकीको चुलोमा पनि पाक्न नदिने संस्कारको उनी विरोधी हुन्। उनले त छिमेकीको देखेर आफ्नोमा पनि भात पाक्ने परिस्थिति निर्माण गर्नुपर्ने कुराको वकालत गर्छन्। एक मुठी चामल दिएर माग्ने धनी हुँदैन। चामल उत्पादन गर्ने सीप सिकायो भने ऊ माग्ने बन्दैन भन्ने कुरामा विश्वास गर्छन्। त्यसैले त उनी गरीबहरूका बारीमा उत्पादन कला सिकाउँदै हिंड्छन्।
भैरव दाइले सुन फालेर नुन बटुल्ने प्रवृत्तिप्रति वेलावेलामा झटारो हानेकै छन्। लोकतान्त्रिक निर्वाचनले यदाकदा नयाँ चित्र ल्याए पनि नयाँ चरित्र ल्याउन नसकेको देखेका छन्।
कर्णालीको हुम्लामा उज्यालो पुर्याउने काम होस् या बागमतीको काठमाडौंमा सगरमाथा एफएम जस्ता सञ्चारमाध्यमको स्थापना र सञ्चालन गर्ने काम होस्, आवश्यकतामा आधारित काम पूरा गर्न दिलोज्यान दिएर लाग्छन्। कहिले उनी विसंगतिका विरुद्ध कलमले जेहाद छेड्छन्, कहिले गरीबका बारीमा सीपको कोदालो चलाउन पुग्छन्। यिनै र यस्तै सुकर्मले पनि उनलाई धेरैले सम्झने गर्छन्। यो अत्युक्ति होइन, तथ्योक्ति हो।
व्यावहारिक राजनीति
२०१३ सालदेखि वामपन्थी राजनीतिमा आस्था राख्दै आएका भैरव दाइले व्यावहारिक, स्थिर र दिगो राजनीति गर्दै आएका छन्। रूखले हमेशा पात बदल्ने गर्छ, तर जरा बदल्दैन। ऋतु बदलिएसँगै पात सुक्छन् खस्छन् र पुनः बोटहरू हरिया हुन्छन्। यस्तै हरिया बोट हुन् भैरव दाइ। नेपालका अहिलेका अधिकांश बूढा नेताहरूमा यस्तो हरियालीयुक्त बन्ने क्षमता छैन। उनको जीवनबाट यी नेताहरूले सिक्नुपर्छ। यहाँ त परिवर्तनको राजनीति धेरै भयो, तर हुनुपर्ने राजनीतिक परिवर्तन हो।
यहाँको विकासले बाटो बिराएको छ‒ कलम समातेपछि कुटो कोदालो समाउनु हुन्न भन्ने वर्तमान शिक्षाले श्रमको महत्व बुझेन। पटुका कस्न नजानेको राजनीतिले फेटा कस्छु भन्नु वाहियात हो। लेनिनले सुँगुर सफा गर्न सुँगुरको खोरमा नै पस्नुपर्छ भनेका थिए, तर सुँगुर नै बनेर निस्कन त भनेका थिएनन्। भैरव दाइले सुन फालेर नुन बटुल्ने प्रवृत्तिप्रति वेलावेलामा झटारो हानेकै छन्। लोकतान्त्रिक निर्वाचनले यदाकदा नयाँ चित्र ल्याए पनि नयाँ चरित्र ल्याउन नसकेको देखेका छन्। हिजोका नेताहरूले धनको सट्टा प्रतिष्ठा आर्जन गरेको र आजका नेताहरूले प्रतिष्ठाको सट्टा धन आर्जन गरेको देख्दा उनलाई दिक्क लाग्नु स्वाभाविकै हो। उनले खोजेको देश र अहिलेकाले बनाएको देशमा निकै अन्तर छ।
उनी मुलुकका हरेक विसंगतिका विरुद्ध जेहाद छेडिरहन्छन्। उनी सरकारको विरोध मात्र गर्दैनन्, सतर्कतापूर्वक आफ्नो जिम्मेवारी बोध पनि गर्छन्। आफ्नो पेशाको आदर्श र मर्यादाको सधैं ख्याल गर्छन्।
सधैं एउटा कौतूहल बोकेर हिंड्ने भैरव दाइलाई थाहा छ- भोका मान्छेहरूको देश कहिल्यै स्वाधीन र बलियो हुँदैन। अहिलेको राजनीतिक मुद्दा भनेकै देश बनाउने हो। यसका निम्ति केही सकारात्मक क्रियाकलाप गर्नुपर्यो, त्यसमा के के सुधार ल्याउनुपर्छ सिंहावलोकन गर्नुपर्यो र सबै पूरा भएपछि रूपान्तरण कार्यलाई अगाडि बढाउनुपर्यो। विदेशीलाई पत्याउने, स्वदेशीलाई सताउने, समाजवादी मन्त्र घोक्ने, निजी स्वार्थ बोक्ने भ्रष्ट र ठगहरूको मन्दिर होइन, नेपालीहरूको वैकुण्ठ बनाउने सोच राख्छन् भैरव दाइ।
राष्ट्रवादी नेता
अर्काको दाना खाएर, अर्काको नाना लगाएर, उसैको गाना गाएर, अर्काको छानामा बसेका केही तथाकथित नेपालीप्रति भैरव दाइलाई घृणा लाग्छ। २०१८ सालमा सुदूरपश्चिममा जनगणना गर्न जाँदा उनी लिपुलेक पुगेका थिए। त्यस क्षेत्रको जनगणना गराएका थिए। आज त्यहाँ भएको भारतीय अतिक्रमण देखेपछि उनी भन्छन्, “लिपुलेक मात्र होइन, सम्पूर्ण कालापानी नै नेपालको भूभाग हो।” जब जब नेपालीको पाखुरा र नेपालका टाकुराहरू कतैबाट चोरिन थाल्छ तब उनी मर्माहत हुन्छन्। उनले कति आफूलाई लागेको गर्न पाए, कति अरूले भनेको गर्नुपर्ने गरे त्यसको यथोचित हिसाबकिताब छैन। तर पनि राष्ट्रका निम्ति धेरै गरे। जति गरे भलो मात्रै गरे। कुभलो कहिल्यै गरेनन्।
पत्रकारितामा भैरव दाइ
मेरो शिक्षण पेशापछि रेडियो मदनपोखराको स्थापना र सञ्चालन गर्ने सिलसिलामा २०५५ सालदेखि भैरव दाइसँग काठमाडौंमा बाक्लो भेटघाट र बसाउठी गर्ने मौका जुर्यो। दाइको निडर पत्रकारिताको बारेमा २०४२/४३ सालतिरै उनले लेखेको ‘एशियाली मापदण्ड मन्त्रिमण्डलको ठगिखाने भाँडो’ शीर्षकको लेखबारे छोटो जानकारी पाएको थिएँ। यति वेला राजा वीरेन्द्रले एशियाली मापदण्डमा नेपाललाई पुर्याउने लक्ष्य र कार्यक्रम घोषणा गरेका थिए। यसैलाई व्यंग्य गरेर यो लेख लेखिएको थियो रे!
२०१३ सालदेखि पत्रकारिता प्रारम्भ गरेका यी पत्रकारलाई हचुवाको भरमा पत्रकारका शिखर पुरुष भनिएको हैन। उनले सधैं पेशालाई नै प्राथमिकतामा राखे। उनका सयौं पुस्तक, लेख र विचार प्रवाहमा कहीं पनि चिप्लेका छैनन्। जीवनका अनुभव र अनुभूतिहरूलाई अक्षरमा ढाल्न र बोली मार्फत फाल्न सिपालु भएकाले नै उनी धेरैको मनमा बाँचिरहेका छन्। उनी मुलुकका हरेक विसंगतिका विरुद्ध जेहाद छेडिरहन्छन्। उनी सरकारको विरोध मात्र गर्दैनन्, सतर्कतापूर्वक आफ्नो जिम्मेवारी बोध पनि गर्छन्। आफ्नो पेशाको आदर्श र मर्यादाको सधैं ख्याल गर्छन्।
भैरव दाइका बारेमा जति लेखे पनि कमै हुन्छ। उनको ९६ वर्षे लामो जीवनको सफल संघर्षमा साथ दिने धर्मपत्नी (सुशीला)को पनि ठूलो हात देखिन्छ। यो साथ मिलिरहोस्। यो अनुहारको कान्ति, कामको सक्रियता, कलमको दौड, विवेक र विचारको अभ्यासमा शक्ति मिलिरहोस्, निरन्तरता पाइरहोस्। सुस्वास्थ्य र दीर्घायुको शुभकामना!
(आमा गणेशकुमारी र बुबा गोवर्द्धनबाट २९ साउन १९८५ मा भक्तपुरको गुण्डुमा जन्मेका पत्रकार भैरव रिसालको जन्मदिवसको अवसरमा प्रकाशित। -स.)
भैरव रिसालका हिमालखबरमा प्रकाशित लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोला