पाटन उच्च अदालत बारको चुनाव असंवैधानिक भन्दै बहिष्कारको निर्णय
स्वतन्त्र कानून व्यवसायी मञ्चले पाटन उच्च अदालत बार एशोसिएशनको आसन्न चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ।
संविधानले सुनिश्चित गरेको समावेशिताको व्यवस्थालाई लत्याएको भन्दै मञ्चले चुनाव बहिष्कार गर्ने भएको छ। आदिवासी, जनजाति, महिला, दलित, मधेशी, मुस्लिम र फरक क्षमता भएका व्यक्तिका लागि समावेशीको सिद्धान्त अनुसार उम्मेदवारी दिने व्यवस्था नगरेको भन्दै मञ्चले असन्तुष्टि जनाएको हो।
मञ्चले बारको चुनावलाई असंवैधानिक भनेको छ। एकल पहिचान रहने गरी संविधानको मर्म विपरीत चुनाव हुन लागेको भन्दै मञ्चले सहभागी नहुने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
असार ३१ गते सार्वजनिक गरिएको चुनावी कार्यक्रम अनुसार चुनाव पाटन उच्च अदालत बारमा भदौ १ गते हुँदै छ।
समावेशी पद्धति अनुसार निर्वाचन तालिका पुनः प्रकाशनका लागि निर्वाचन समितिका पदाधिकारीलाई आग्रह गर्दा अस्वीकार गरेको पनि विज्ञप्तिमा उल्लेख छ।