देशका मध्य र पूर्वी भागमा अत्यधिक पानी, कहाँ कति पर्यो?
हिजो रातिदेखि देशको मध्य र पूर्वी भागमा लगातार झरी परिरहेको छ। निरन्तरको वर्षाले काठमाडौंका कैयौं क्षेत्र र सडकखण्ड पानीले भरिएका छन्।
सडक जलमग्न हुँदा आवागमन प्रभावित भएर विभिन्न सडकखण्डमा सवारीसाधनको लाइन लामो भएको छ। वनस्थली, लैनचौर, बालाजु, स्वयम्भू, रामशाहपथ, बबरमहल, टेकु लगायत क्षेत्रमा सडक जलमग्न बनेका छन्। यसले गर्दा पैदलयात्री तथा मोटरसाइकल र साइकलमा यात्रा गर्ने व्यक्ति प्रभावित भएका छन्।
हिजो रातिदेखि नै कोशीदेखि लुम्बिनी प्रदेशसम्मका क्षेत्रमा पानी परिरहेको छ। पछिल्लो १२ घण्टामा (मंगलबार बिहान ११ बजेसम्म) सर्वाधिक पानी सप्तरीको रुपनी बजारमा भएको छ। १२ घण्टामा रुपनी बजारमा १७८.४ मिलिमिटर वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार बितेको २४ घण्टामा देशका ११ स्थानमा धेरै भारी वर्षा भएको छ। विभागले २४ घण्टाको अवधिमा १०० मिलिमिटर वा सोभन्दा बढी तथा २०० मिलिमिटरभन्दा कम वर्षा हुने स्थितिलाई धेरै भारी वर्षा भएको मान्छ। सप्तरी, चितवन, मोरङ, सिन्धुपाल्चोक, ललितपुर, काठमाडौं, सुनसरी, धनुषा, मकवानपुर तथा उदयपुरमा धेरै भारी वर्षा भएको हो। त्यसैगरी, देशका ५५ स्थानमा भारी वर्षा भएको छ। २४ घण्टाको अवधिमा ५० मिलिमिटर वा सोभन्दा बढी तर १०० मिलिमिटरभन्दा कम पानी परेमा त्यसलाई भारी वर्षा मानिन्छ।
यद्यपि विभागले एकाध स्थान बाहेक अन्यत्र चेतावनी स्तरमा पानी नपरेको उल्लेख गरेको छ। एक घण्टामा ६० मिलिमिटरभन्दा बढी, तीन घण्टामा ८० मिलिमिटरभन्दा बढी, ६ घण्टामा १०० मिलिमिटरभन्दा बढी, २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी पानी परे मात्रै चेतावनी जारी गरिन्छ। विभागले सप्तरीको रुपनी बजार र चितवनको शक्तिखोरमा मात्रै चेतावनी स्तरमा पानी परेको जनाएको छ।
बितेको २४ घण्टामा ललितपुरको गोदावरीमा १२७.२ मिलिमिटर, कपनमा ११९.६ मिलिमिटर पानी परेको छ। गोदावरीमा पछिल्लो १२ घण्टामै ९८.४ मिलिमिटर पानी परिसकेको छ। त्यसैगरी, कपनमा पछिल्लो १२ घण्टामा १००.८ मिलिमिटर पानी परेको छ।
लगातारको वर्षाका कारण काठमाडौंका बागमती नदी, विष्णुमती, हनुमन्ते लगायत खोलामा बाढी आएको छ।
जल तथा मौसम विज्ञान विभागले सोमबार दिउँसो विशेष मौसम बुलेटिन निकालेर मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेका कारण २२ र २३ साउनमा देशका धेरै ठाउँमा अत्यधिक पानी पर्न सक्ने जानकारी दिएको थियो।